रौतहटको जयनगरमा नेपालकै ठुलो फर्निचर प्रदर्शनी मेला शुरु

रौतहटको जयनगरमा नेपालकै ठुलो फर्निचर प्रदर्शनी मेला शुरु

विवेक शर्मा, रौतहट

रौतहट जिल्लाको मध्य भागमा रहेको व्यपारको नगरी गरुडा नगरपालिकाको वडा नं. १ मा पर्ने जयनगरमा नेपालकै सबै भन्दा ठुलो फर्निचर मेला लागिरहेको छ । वशन्त पञ्चमीको आगमनसंगै यो मेला हरेक वर्ष वशन्त पञ्चमी देखि लाग्न शुरु हुन्छ ।

यस फर्निचर मेलामा विभिन्न किसिमको फर्निचर जस्तै पलङ्ग, कुर्सी, टेवल, झ्याल, किचेन ¥याक, लो बेड आदी सबै फर्निचरको समाग्रीहरु पदर्शनीमा राख्ने गर्दछन् । यो मेला विगत १० वर्ष देखि गौरबाट चपुर जाने विरेन्द्र राजमार्गमा पर्ने जयनगर चौकमा लाग्ने गर्दछ ।

यो मेला पहिले शिवनगरमा करिव २० वर्ष अगाडी देखि नै लाग्दै आइरहेको स्थानीयहरुको भनाई रहेको छ । अहिले यो मेला गरुडा नगरपालिकाको वडा नं. १ मा पर्ने जयनगरमा लाग्ने गरेको छ । यसमा लाखौंको संख्यामा वेड, कुर्सी, टेवल, दराज, झ्याल, ढोका आदी पाईने छ । यस मेलामा २० हजार देखि १ लाख ५० हजार सम्मको बेड रहेको मेला समितिको कोषाध्यक्ष रामध्यान ठाकुरको भनाई रहेको छ । यो मेलाको फर्निचरबाट गरिब मानिसहरुलाई पनि आफ्नो मन अनुसारको पलङ्गमा सुत्ने इच्छालाई पुरा गरेको वाहाको दावी समेत रहेको छ ।


तराइमा हुने विवाहमा छोरीलाई दिने विशेष फर्निचरहरु यसै मेलाबाट किन्ने गरेको पाइएको छ । यसमा फर्निचर लगाएत फलामबाट बन्ने विभिन्न किसिमको औजारहरु पनि पाईन्छ । जस्तै कता, खुर्पा, हसिया, वञ्चरो, चुलेसी, बसुली, तरवार आदी पाईने गरिन्छ ।

उक्त मेला वशन्त पञ्चमी देखि शुरु भई शिवरात्री सम्म लाग्ने मेला समितिले जानकारी दिएको छ। मेलाबाट प्रत्येक वर्ष २२ करोड सम्मको व्यापार हुने अनुमान समेत गरिएको छ ।

सम्बन्धित खवर