हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै स्थानीयवासी

हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै स्थानीयवासी

कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पुर्याउन थालेको छ ।

तीन दिनदेखि करीब २० सङ्ख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको बालीमा नोक्सान पुर्याएको हो । हात्तीको बथान रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पुर्याउदै आएको छ । नगरपालिका–८ मा मात्रै हात्तीको बथानले सात जना किसानले खेतमा लगाएको गहुँलगायतको बालीमा क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए ।

सामुदायिक वन क्षेत्रमा लगाइएको १५ मिटर ग्याबिन तारजालीसमेत हात्तीको बथानले चुँडालेको छ । हात्तीको बथान साँझ नपर्दै नजिकैका सामुदायिक वनबाट खेतमा छिरेर क्षति पुर्याउन थालेपछि स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै आएका छन् ।

खेतमै आगो बालेर हात्ती भगाउनका तीन दिनदेखि खेतमै बस्दै आएको स्थानीयवासी बिन्ता जागरीले बताए । वर्षात्का बेलासमेत यस क्षेत्रमा हात्तीको बथाले धान बालीमा व्यापक नोक्सानी गरेका थियो । हात्तीलगायतका जनावरले खेतमा लगाएको बालीमा नोक्सानी पुर्याउँदै आएपछि स्थानीय किसान साँझ–बिहानको छाक टार्नकै लागि भारतमा मजदूरी गर्न जान बाध्य भएका छन् ।

हात्तीको बथानले नगरपालिकाको वडा–७ को सिमलफाँटालगायतका किसानले लगाएको गहुँ बालीसमेतमा क्षति गरेको छ । हात्तीको बथानले प्रतिवर्ष नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ७, ८ र १२ का किसानले लगाएको धान, गहुँ, उखु र केरालगायतको बालीमा क्षति पुर्याउने गरेको छ ।

सम्बन्धित खवर