सिन्धुली ,१८ माघ–कमलामाई नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरुलाई अनलाइन प्रणालीमा जोड्न सहकारी तथा गरिवी निवारण सम्वन्धी सूचना प्रणाली (कोपोमिस) तालिम शुक्रबारबाट संचालन गरेको छ । २ दिन सम्म संचालन हुने तालिम नगर प्रमुख खड्ग बहादुर खत्रिको अध्यक्षतामा सुरु भएको हो ।
तालिम पश्चात सहकारी संस्थाको अनुगमन अनलाइनबाट गरिने नगर सामाजिक शाखाका नायव सुब्बा तथा नगर सहकारी विभाग प्रमुख बविन्द्रलाल माझीले बताउनुभयो । यस तालिमले सहकारी क्षेत्रको सुचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन,नियमन पद्धति स्थापित गर्न सहयोग पुग्ने उहाँको भनाई छ । सहकारी तथा गरिवी निवारण सम्वन्धी सूचना प्रणाली (कोपामिस) वेवमा आधारित सूचना प्रणाली हो । नियमक निकाय र सहकारी क्षेत्रका सरोकारवालाले एकै साथ हेर्न सक्ने उहाँले भन्नुभयो ।
उहाँका अनुसार कोपोमिसमा संस्थाको सदस्यको कूल विवरण, कूल शेयरपूँजी, कुल वचत, कूल असल ऋण, कूल संकास्पद ऋण, कूल खराव कर्जा देखिने छ । सहकारी सस्ंथाको साधरण सभा लेखा र सञ्चालक समिति, निर्वान उपसमिति, उपसमिति र सहकारी संघ संस्था सम्वन्धी जानकारी प्रतिवेदनका रुपमा दाखिला गर्नु पर्ने छ ।
मासिक तथा वार्षिक वित्तिय प्रतिवेदन, समष्टीगत प्रतिवेदन, नयाँ सदस्य दर्ता, शेयर थपघट, उत्पादन निर्यात, कृषि सामाग्रगी विक्री वितरण र सेवा प्रवाह, मासिक प्रतिवेदनका रुपमा पेश गर्नु पर्ने छ । सहकारी संस्थाले नियमक निकायलाई विनियम संशोधन, कार्यक्षेत्र थपघट, अभिलेक संशोधन र कार्यक्रम पेश गर्न निवेदन गर्न सक्नेछ । संस्थाको आन्तरिक कार्य एजेण्डा तथा निर्णय कार्यान्वयनको अवस्था, कर्मचारी सम्वन्धी विवरण,संस्थाले प्रदान गर्न सक्ने परामर्श सेवा, समिति सदस्यले लिएको ऋणको विवरण दाखिला गर्नु पर्ने छ ।
आज (शनिवार) समापन हुने तालिममा नगर क्षेत्रभित्रका ३७ सहकारी संस्थाहरुको सहभागिता रहेको छ ।तालिमको सहजिकरण सहकारी विभागका आईटी अफिसर राजाराम पनेरुले गरिरहनु भएको छ ।