मोरंग कांग्रेसभित्र खैलाबैला ः ३८ जनालाई सोधियो स्पष्टिकरण

मोरंग कांग्रेसभित्र खैलाबैला ः ३८ जनालाई सोधियो स्पष्टिकरण

गएको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको, पार्टी नेतृत्वको आलोचना गरेको र विधान विपरीत गतिविधि गरेको भन्दै मोरंगका ३८ नेता, कार्यकर्तालाई स्पष्टिकरण सोधिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले उनीहरुलाई लिखित रुपमा चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको हो । स्पष्टिकरण सोधिएकामा सांसददेखि पार्टीको तल्लो तहका नेता तथा कार्यकर्ता परेका छन् ।
राष्ट्रिय सभा सांसद रमेशजंग रायमाझीलाई मोरङको बाँसबारीमा पार्टीको सम्पर्क कार्यालय खोलेको विषयमा स्पष्टिकरण सोधिएको छ । पार्टीको क्षेत्रीय कार्यालय विराटनगरमा रहँदारहँदै समान्तर रूपमा अर्को कार्यालय खोल्नुको कारण रायमाझीसँग सोधिएको स्रोतको भनाइ छ ।
यसैगरी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध बोलेको विषयमा स्पष्टिकरण सोधिएको हो । पार्टी सभापति देउवाले पैसा लिएर चुनावमा टिकट बाँडेको आरोप कार्कीले एउटा टेलिभिजन अन्तर्वार्तामा दिएको विषयमा उनलाई स्पष्टिकरण सोधिएको हो ।
यसैगरी प्रदेशसभा सांसद चुमनारायण तबदार, पूर्व सांसद वीरेन्द्र माझी, दिलिपकुमार गच्छदार, क्षेत्रीय सभापति मोहनविक्रम कार्की, क्षेत्रीय सचिव चेतराज रेग्मी, आमन्त्रित जिल्ला सदस्य वसन्त हुमागाईं, प्रेमचन्द चौधरीलाई पनि चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै स्पष्टिकरण सोधिएको नेपाली कांग्रेस जिल्ला समिति स्रोतले बताएको छ ।
त्यस्तै महासमिति सदस्य महेन्द्रप्रसाद सुवेदी, नगेन्द्र जमरकट्टेल, बलबहादुर खवास, महाधिवेशन प्रतिनिधि शम्भुसिंह कार्की, डिल्लीराम रेग्मी, क्षेत्रीय प्रतिनिधि अरबिन्द शर्मालगायत ३८ जनालाई स्पष्टिकरण सोधिएको छ ।

सम्बन्धित खवर