शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज नवौं चरणका अन्तिम खेलहरु हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब भिड्दैछन्।
८ खेलबाट ८ अंक नै जोडेको फ्रेन्डस तालिकाको ११औं स्थानमा छ। समान खेलबाट ९ अंक जोडेको च्यासल नवौं स्थानमा छ। दशरथ रंगशालामै दिउँसो ३ बजे हुने नवौं चरणको अन्तिम खेलमा न्युरोड टिम एनआरटी र ब्रिगेड ब्वाईज क्लब भिड्दैछन्। अंक तालिकाको छैटौँ स्थानमा रहेको एनआरटीले ८ खेलबाट १२ अंक जोडेको छ।
ब्रिगेड ब्वाईज ८ अंकसहित १० औँ स्थानमा रहेको छ। नवौं चरणका खेल सकिन लाग्दा विभागीय टोली त्रिभुवन आर्मी २० अंकसहित उपाधि होडको पहिलो नम्बरमा छ। त्यस्तै मच्छिन्द्र क्लब १९ अंकसहित दोस्रो स्थानमा रहँदा साबिक विजेता मनाङ मस्र्याङ्दी १९ अंकसहित तेस्रो स्थानमा रहेको छ।




