सल्यान । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका सल्यानका एक शिक्षकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार छत्रेश्वरी गाउँपालिका-६ कल्लेखोलामा रा ३ प ७००० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी दार्मा गाउँपालिका-१ रानीपानी निवासी ४२ वर्षीय टेकबहादुर केसी घाइते हुनुभएको थियो ।
उहाँको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। राष्ट्रिय माध्यामिक विद्यालय दार्माकोटमा कार्यरत शिक्षक केसी सल्यानबाट तुलसीपुर जाने क्रममा सोमबार बेलुकी दुर्घटना भएको थियो।
सडकमा बसलाई उछिनेर अगाडि जाने क्रममा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ। केसी नेपाल शिक्षक संघ दार्मा गाउँपालिकाका अध्यक्षसमेत रहनुभएको थियो।




