भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा एक शिक्षकलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।
सोमबार जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले सोही विद्यालयका शिक्षक लक्ष्मणदत्त भट्टलाई १० वर्षको कैद सजाय सुनाएको हो । सोही प्रकरणमा चार जनाले अदालतबाट सफाइ पाएका छन् ।
सफाइ पाउनेमा विद्यालयकी प्रध्यानाअध्यापक यशोदा जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा, शिक्षक दुर्गादत्त पाठक र हर्कबहादुर जाग्री रहेको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।
गत असारमा शिक्षकको कुटाइबाट घाइते भएका कक्षा ९ का विद्यार्थी कलौनीको उपचारका क्रममा मृत्यु भएको थियो । बैतडीको शिवनाथ गाउँपालिका–२ सर्मालीका उनी भीमदत्त नगरपालिका–५ वनगाउँमा रहेका मामाको घरमा बसेर पढ्दै थिए ।
