मकैको बीउ जोहो गर्दै किसान

मकैको बीउ जोहो गर्दै किसान

उदयपुरका मध्यपहाडी तथा उत्तरीपहाडी क्षेत्रका किसानले मकैको बीउ जोहो गर्न थालेका छन् ।
गत वर्षको खडेरीका कारण मकैबाली नष्ट भएर बीउसमेत बचाउन नसकेका उनीहरुले मकैबाली लगाउने सिजन आउनै लाग्दा बीउको जोहो गर्न थालेका हुन् ।
लामो समयसम्म पानी नपरेर खडेरी लागेका कारण उदयपुरको मध्यपश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र उत्तरी दुर्गम पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाकामा सम्पूर्ण मकैबाली नष्ट भएको थियो । फागुन लाग्नासाथ मकैबाली लगाउन सुर हुन्छ ।
लिम्चुङबुङ गाउँपालिकाको बलम्ता, जाँते, बराह, ताम्लीछा तथा बाँसबोटेका कृषक राम्रो उत्पादनयुक्त मकैको बीउको खोजी तथा जोहोमा लागेको जाँतेका अम्बरबहादुर बुढाथोकीले बताए ।
अब माघ बित्न लागेको र फागुनको दोस्रो हप्ताबाट गाउँघरमा मकैखेती सुरु गर्नुपर्ने हुनाले आफूहरु राम्रो मकैको बीउको जोहो गर्ने काममा लागेको उनले बताए ।
यस्तै लिम्चुङबुङ गाउँपालिका–५ बलाम्ताका अर्का कृषक डिकबहादुर राईका अनुसार अब दिनदिनै गाउँघरमा मकैखेती गर्ने सिजन सुरु भएका कारण आफूहरु पनि मकैको बीउ व्यवस्थापन गर्न्तिर लागेको बताए ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले कृषक मकैको बीउ व्यवस्थापनमा चिन्तित बन्न थालेको हुँदा गाउँपालिकाले बीउको जोहो गर्ने प्रयासमा लागेको बताए ।

सम्बन्धित खवर