राजमार्गभरी छन् सेक्स स्टेशनहरु

राजमार्गभरी छन् सेक्स स्टेशनहरु

लहान, पूर्वका प्रमुख शहर तथा तराई मधेसका अधिकाशं जिल्लाका मुख्य बजारहरु देहब्यापारका स्टेसन बन्दै गएका छन् । त्यस्ता स्टेशन चलाउँदै यौन जन्य क्रियाकलापमा संलग्नहरु खुलेयाम आफ्नो व्यापार गरिरहेका देखिन्छन् ।

यसरी समाजिक विकृतिजन्य अबैद्य कृयाकलापहरु भैरहेको भएपनि त्यसमा राज्यका निकायहरु भने अलमलमा देखिन्छन् ।
यौन धन्दामा सामान्य मजदूर, रिक्साचालकदेखि ठूला व्यापारी, उच्च पदस्थ कर्मचारी र राजनीतिज्ञहरु समेत जोडिने गरेको कतिपयले चर्चा गर्ने गरेका छन् । राज्यको उपल्लो निकायका मानिसहरु नै त्यसमा व्यापारी वा ग्राहकको रुपमा जोडिने भएकाले नियन्त्रणमा आउन नसकेको धेरैको ढम्याइ रहेको छ ।

सिरहाको लहान, गोलबजार, धनगढी र मिर्चैया, कटारी चौक लगायतका ठाउँहरुमा सञ्चालित होटेल एन्ड लाजमा दिउँसै त्यस्ता धन्दा चल्ने गरेको स्थानीयहरुको भनाइ छ। लहान मिर्चैया र गोलबजार लगायतका स्थानहरुमा प्रहरीले छापा मारेर दर्जनौँलाई पक्राउ गरि सार्वजनिक मुद्दा चलाए पनि अझै नियन्त्रणमा आउन भने सकेको देखिन्न ।

कतिपय बाहिरबाट आउने मानिसहरुले त्यस्तो सम्बन्ध राख्न चाहने गरेकाले होटेलहरुले त्यसको प्रवन्ध मिलाउने गरेको बुझिएको छ । त्यहाँका होटल एन्ड लाजहरु त्यहि धन्दाका आधारमा टिकेका छन् । ति व्यवसायहरु पनि यौनिक स्टेशनका रुपमा परिणत हुँदै गएकोमा स्थानीयहरु भने आक्रोशित छन् ।

होटल एण्ड लाज संचालकहरुले ग्राहकसँग १ हजार देखि १५ सयसम्म लिने र आफूलाई ४ सय देखि ५ सय रुपैयाँ दिने गरेको यौन कर्मीहरु बताउछन्। यौनकर्मिहरुले पत्रकारहरुसंगको कुराकानीमा आफुहरुसँग सम्पर्क राख्न पुलिसहरू पनि आउँने गरेको बताएका छन् । उनीहरूले भनेका छन–‘उनीहरुलाई सित्तैमा सेवा दिनुपर्छ। उल्टै, नांगो बनाएर फोटो खिच्छन्।’

सिरहामा मात्र होइन, देशैभरि साना, ठूला शहरमा यौन व्यवसायले विकराल रूप लिइसकेको छ। सिरहामा लगभग एकसयको हराहारीमा यौनकर्मिको संख्या रहेको अनुमान गरिएको छ ।

त्यस्तै सप्तरीको सदरमुकाम राजविराजका छाप्रा र होटलहरूमा पनि यौनधन्दा चल्छ। प्रहरीका अनुसार यसबाटै केही गरिब महिलाहरूको जीवनयापन चलेको छ। त्यस्तै उदयपुरको गाईघाट बजार पनि पहाडी क्षेत्रको ठूलो सेक्स स्टेसन हो।

गाईघाटमा यौनव्यवसाय गर्न भोजपुर, खोटाङ, सप्तरी र सिरहादेखिका युवतीसमेत आउने गरेको प्रहरीको भनाइ छ। प्रहरीले होटलमा छापा मारेर पटक–पटक यौनधन्दा गर्नेलाई पक्राउ गरेको छ।

सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दीलगायत साना बजारमा पनि थुप्रै यौनिक स्टेसन छन् । यहाँ खुलेका रेस्टुरेन्ट तथा लजहरूका अधिकांश ग्राहक गाडी चालक हुन् । स्थानीय व्यापारी र केही बाहिरबाट आउनेहरू पनि हुने गरेको प्रहरीको भनाइ छ।

जनकपुरको जनकचोकलाई त स्थानीयवासी ‘रेडलाइट एरिया’ भन्ने गर्छन्। उनीहरूका अनुसार यहाँका धेरैजसो लज यौन धन्दाकै लागि खोलिएका छन्। ढल्केबर, लालगढ, बर्दिवास, चन्द्रनिगाहपुर हुँदै पथलैया सम्ममा गाडी चालकहरूलाई खाना, बस्नसँगै यौन सेवा दिने ठाउँ प्रशस्त भेटिन्छन्।

त्यसपछि पुगिने हेटौँडालाई त गाडीको लोड बिसाउनेमात्र होइन, यौन तिर्खा मेटाउने शीतल चौतारी भने पनि हुन्छ। हेटौँडामा काठमाडौंदेखिका यौनकर्मीहरूको समेत जमघट हुन्छ। त्यहाँ तीन सयको हाराहारीमा यौनकर्मी रहेको अनुमान गरिएको छ ।

त्यस्तै चितवनलाई पूर्व र पश्चिम सबैतिरको केन्द्रीय सेक्स स्टेसन भने पनि हुन्छ। चितवनका रत्ननगर, नारायणगढदेखि मौवाखोलासम्म साना–ठूला सेक्स स्टेसन सञ्चालित छन्। देशका मुख्य बजार र बसपार्क क्षेत्रमा सेक्स स्टेसन सञ्चालन हुन्छन् भन्ने जानकारी प्रहरीलाईभन्दा बढी अरू कसलाई होला नहोला तर नियन्त्रण किन हुन सक्दैन यो आश्चार्यको विषय हो ।

कुनै शहरमा नयाँ प्रहरी प्रमुख आउनेबित्तिकै उसको पहिलो काम त्यस क्षेत्रका यौनक्रियाकलाप गर्ने होटलमा छापा मार्ने र मान्छे पक्राउ गर्ने हुन्छ। झापा, दमकका होटलमाप्रहरी ले छापा मारेर पक्राउ गरेपछि होटल व्यवसायीहरू भने असन्तुष्ट बनेका छन्।

धेरै ठाउँमा त प्रहरीविरुद्ध होटल व्यवसायीले आन्दोलनै गरेका छन्। प्रहरी र होटल व्यवसायीको यस्तो जुहारी छ महिनाजति चल्छ। ‘त्यसपछि कतै नियन्त्रण पनि हुन्छ,’ एक व्यवसायीले भने, ‘कतै प्रहरीको ‘लाइन’ मिल्छ अनि बन्द हुन्छ, छापा मार्ने काम।’

नारायणगढका एक होटल व्यवसायी भन्छन्, ‘प्रहरीले यौनधन्दा रोक्न होइन, पैसा कमाउन यस्तो अभियान चलाएका हुन्। भारतको सिलिगुढी हुँदै दार्जीलिङ, सिक्किम जाने र सीमाबाट नेपालतर्फ आउने गाडी स्टेसन छ, त्यहाँ। तर पछिल्ला दिनमा त्यो गाडी स्टेसन भन्दा बढी ‘सेक्स स्टेसन’ का रूपमा परिचित छ।

नेपाल र भारतका मात्र होइनन्, बंगलादेशका नागरिकसमेत जमघट हुने यो ठाउँमा खुल्लम खुल्ला यौनधन्दा चल्ने गर्छ। काकडभिट्टाबाट सुरु हुने पूर्व–पश्चिम राजमार्ग जति अघि बढ्दै जान्छ, त्यति नै ‘सेक्स स्टेसन’को संख्या बढ्दै जान्छ।

काकडभिट्टाबाट अगाडि बढेपछि आइपुग्ने बिर्तामोडको बसपार्क क्षेत्र पनि सेक्स स्टेसन बनेको छ। त्यहाँका अधिकांश रेस्टुरेन्ट र होटलमा यौनधन्दा हुन्छ। २०६८ चैत २२ गते बिर्तामोडको नयाँ बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नरमा एक जनाको हत्या भयो। उनको हत्यामा यौनधन्दा पनि जोडिएको थियो।

बिर्तामोड अगाडिको दमक पनि अर्को नामुद सेक्स स्टेसन हो। यहाँ पनि भारतदेखिका व्यापारी, यात्राका लागि आउने घुमन्तेहरू यौनआनन्द लिन आइपुग्छन्। पुर्वका गाउँहरूबाट शहर झरेका चेली र केही भारतीय युवती पैसासँग शरीर साटिरहेका हुन्छन्। केही दिन अघिमात्र प्रहरीले यौनधन्दा चलाएको आरोपमा सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार दमकमा प्रियंका होटल, ओझा होटल, सौगात, डल्फिन लगायतका रेस्टुरेन्ट यौनधन्दामा कहलिएका छन्। दमक–९ को ममता होटलमा यौनधन्दा प्राय हुने गरेको गोप्य श्रोतबाट जानकारी हुने गरेको छ ।

बिर्तामोडका पत्रकार रमेश समदर्शीको टिप्पणी छ– ‘सबैतिर नयाँ प्रहरी प्रमुख आउँदा उनीहरूको पहिलो टार्गेट नै होटलका यौनधन्दा हुने गर्छन्। तर, दुईचार दिनमै अभियान सेलाउँछ।’

त्यसो त झापाबाट इलाम हुँदै पाँचथर, ताप्लेजुङसम्मको यात्राका क्रममा पनि भेटिन्छन्, सेक्स स्टेसनहरू। आर्मी क्याम्प नजिकैको चारआली गाडी स्टेसन वरपरका होटलहरूमा सेक्स वर्करहरू रहेका छन्। उनीहरूका ग्राहक आर्मी, पुलिस, ठेकेदार र व्यापारीहरू हुने गरेको स्थानीयवासी बताउँछन्।

त्यहाँबाट उकालो चढेपछि चियाबारीमा मायाप्रेम साट्ने जोडीहरू बढी भेटिन्छन्। तर, इलामको फिक्कलमा चाहिँ बाहिरबाट सल्लाह मिलाएर गएका जोडी भेटिन्छन्। त्यहाँ पनि यौनकर्मी उपलब्ध छन्। इलाम बजारका होटलहरूमा पनि यौन पर्यटक थुप्रै भेटिन्छन्।

इलामबाट पाँचथर जाँदा बाटोमा पर्ने कान्छी दोकान लगायत बजारमा फाट्टफुट्ट यौन अखडा भेटिन्छन्। पाँचथरको सदरमुकाम फिदिम त पहाडी क्षेत्रको गतिलो सेक्स स्टेसन नै हो। एक वर्षअघि प्रहरीले फिदिमको सीमा होटलमा छापा मारेर तीन जोडी युवायुवती पक्राउ गरेको थियो।

ताप्लेजुङको फुङलिङस्थित बस स्टेसन वरपर पनि सेक्सका अखडाहरू जमिरहेका स्थानीयवासी बताउँछन्। दमकबाट पश्चिमतिर अघि बढेपछि आउँछ, उर्लाबारी सेक्स स्टेसन। पहिला गाउँ भए पनि जग्गा प्लटिङले शहरीकरण बढिरहेको उर्लाबारीमा व्यापारी, व्यवसायीको जमघट बढ्दो छ।

आयस्तर बढ्दै गएका स्थानीयहरू गाउँमै डान्स पार्टी, कन्सर्ट गरेर रमाउन थालेका छन्। अनि, थकान मेट्न र मनोरञ्जन दिन भनेर खुलेका होटल, रेस्टुरेन्टमा यौनधन्दा फस्टाइरहेको छ। उर्लाबारीसँग नजिकैको पथरी बजारका धेरै विशेषता मिल्छन्।

दुवै क्षेत्रका स्थानीयको बदिलँदो जीवनशैली र आयस्तरसँगै सेक्स स्टेसनहरू बनिरहेका छन्। पथरीका होटल, रेस्टुरेन्टमा भुटानी शरणार्थी युवतीहरू धन्दामा थिए, तर उनीहरू तेस्रो मुलुक गएपछि यहाँको सेक्स बजारमा मन्दी आएको स्थानीय बताउँछन्।

पथरीबाट अगाडि बढेपछि आइपुग्ने इटहरी राजमार्गको मात्र होइन, पूर्वकै चर्चित सेक्स स्टेसन हो। पूर्वका सबै मुख्य बजारबाट विभिन्न शहर र राजधानी आउने जाने गाडीहरूको ठूलो स्टेसन हो इटहरी। यौनधन्दामा पनि यो अगाडि छ।

यहाँको बसपार्कका अधिकांश होटल, रेस्टुरेन्टमा यौन कारोबार हुन्छ। बसपार्कबाहेक विराटनगर लाइन, पूर्व र पश्चिम लाइन सबैतिर खोलिएका साना छाप्रा रेस्टुरेन्टको मुख्य काम यौनधन्दा हो । यसबाहेक पनि प्रहरीले सयौँलाई पक्राउ गरी कारबाही गरिसकेको छ।

इटहरीमा काठमाडौंदेखिका यौनव्यवसायी आएर ग्राहकलाई सेवा दिन्छन्। अधिकांश ग्राहक भारतीय हुन्छन् भने स्थानीय ग्राहक पनि उत्तिकै हुन्छन्। इटहरीको गोरखा डिपार्टमेन्ट अगाडिको गाडी स्ट्यान्डदेखि नेपाली सेनाको पूर्वी पृतना क्याम्पसम्मका छाप्रा रेस्टुरेन्टमा पनि यौनधन्दा चम्किएको छ।
यहाँका मुख्य ग्राहक सेनाका जवान, गाडी चालक, रिक्सा र ठेलाचालक हुन्छन्। त्यसअगाडि सेकुवा बजारका रूपमा विकास भएको तरहरामा पनि फाट्टफुट्ट यौनधन्दा चल्छ। त्यसपछि आइपुग्ने पूर्वको सुन्दर शहर धरानको भानुचोकस्थित बसपार्क, शान्तिपथ र छाताचोक नजिकै चतरा लाइन, जिरो प्वाइन्ट, फुस्रे, अमरहाट, बेसक्याम्पका केही होटल, रेस्टुरेन्टमा यौनधन्दा चलिरहेको छ।

धरानबाट भेडेटार जाने उकालो बाटोमा पर्ने सारंगा डाँडामा रहेका होटल–रेस्टुरेन्टमा पनि यौन सेवा उपलब्ध छन्। त्यहाँको डुकु रेस्टुरेन्ट परिचित यौन अखडा हो। पर्यटकीय क्षेत्र भेडेटारका धेरैजसो होटलहरू दिनमा एउटै कोठा पाँच, सात पटकसम्म भाडामा लगाउँछन्।

यस्ता ‘होटलहरू भेडेटारदेखि धनकुटा जाने बाटोसम्म भेटिन्छन्। धनकुटा, हिले र वसन्तपुर पनि यौनपर्यटकका सेक्स स्टेसन हुन्। आर्मी क्याम्पनजिकै भएको चिसो ठाउँ हिलेका छाप्रे होटलहरूमा यौन जोडीको बास हो।

भारतीय नाका जोगबनीदेखि विराटनगरसम्मको क्षेत्र पनि यौनधन्दाका लागि चर्चित ठाउँ हो। विराटनगर बजारकै होटलहरूबाट प्रहरीले जोडीहरूलाई पक्रिने गरेको छ। केही समयअघि विराटनगरबाट ३५ जोडी पक्राउ परेका थिए।

इटहरी नजिकैका खनार, दुहबी, पकली, झुम्का, इनरुवादेखि कोशी ब्यारेजसम्म स–साना सेक्स स्टेसनहरू छन्।

‘एकान्त’, ‘भेटघाट’, ‘स्विट’ जस्ता नाम राखिएका रेस्टुरेन्टहरू मूलसडककै छेउछाउमा भेटिन्छन्। यिनीहरूका मुख्य ग्राहक भनेका चालकहरू हुन्। एक जना ट्रक ड्राइभर भन्छन्, ‘यस्ता रेस्टुरेन्टमा रक्सी, मासु र केटी पाइन्छन्। गाडी चलाउँदा थाकिन्छ। त्यहाँ पसेपछि भोक पनि मेटिने, प्यास पनि मेटिने। पैसा चाहिँ सखाप।’

यसरी दिनहुँ खुलेयाम नेपालको संविधान र कानुनले नै निषेध गरेको यौनधन्दा चलिरहेको खबरहरु आउँदा पनि राज्य किन निदायको छ ? यो आम सर्वसाधारण नागरिकको प्रश्न बन्दै गएको छ । पछिल्लो चरणमा बढ्दै गएको यौनजन्य सामाजिक विकृतिका कारण अन्य हत्या जस्ता जघन्य अपराधहरु समेत बढेको देखिन्छ ।

राज्यका उपल्लो निकायका मानिसहरु र नियम कानुनको मर्यादा सिकाउने निकायहरुले नै यस्ता विकृतिलाई जबसम्म बोकेर हिड्ने संस्कार रहन्छ, यस्ता धन्दाहरु समाजमा बढ्दै जाने निश्चित हो । यसको विकल्पमा जनताहरु र स्थानीय युवाहरु समेत जाग्नु पर्ने कतिपयको भनाइ रहेको छ ।

स्थानीय युवाहरुले मर्यादा पालकहरु त्यस्तो ठाउँमा भेटिएमा सार्वजनिक नगरेमा यस्तो विकृत हटाउन नसकिने धारणा कतिपय बुद्धिजिवीहरुले सामाजिक सञ्जालहरुमा समेत राख्दै आएका छन् ।

सम्बन्धित खवर