सिन्धुलीको एनसेल टावरमा आगजनी,

सिन्धुलीको एनसेल टावरमा आगजनी,

आइतबार राति सिन्धुलीको मरिण गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी भएको छ । मरिण गाउँपालिका–७ जयमंगलमा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगजनी गरेको हो । आगजनीबाट टावर पूर्ण रुपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्याम केसीले बताए ।

साथै, एनसेलको टावरमा आगजनीसँग मरिण गाउँपालिकाको केहि स्थानमा एनसेलको नेटवर्क प्रभावित हुने भएको छ । सिन्धुलीमा मात्र नभएर विप्लव नेतृत्वको समूहले मकवानपुर जिल्लाको तीन स्थानमा रहेको एनसेल टावरमा आगजनी गरेको आशंका गरिएको छ । आज बिहान भीमफेदी गाउँपालिका–६, देउरालीमा, मनहरी गाउँपालिका–५, डिल्लीपुर र हेटौंडा–१५ स्थित रातोमाटेमा रहेको एनसेल टावरमा अज्ञात समूहबाट आगजनी भएको हो ।

आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । ‘बिहान करिब २ बजेको समयमा आगजनी भएको देखिन्छ । हामीलाई जानकारी भएसँगै घटनास्थलमा प्रहरी पुगिसकेको छ,’ प्र हरी उपरीक्षक राठौरले जानकारी दिए । उनका अनुसार भीमफेदी र रातोमाटेको टावरले काम गरिरहेको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा, हेटौंडा–१५ रातोमाटेमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली, डिल्लीपुरमा इलाका प्रहरी कार्यालय नेवारपानी प्रहरी नायब निरीक्षक राजेशकुमार यादव नेतृत्वको टोली घटनास्थलमा पुगेका छन् ।

घटनाबारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ । यसअघि पनि एनसेल टावरमा आगजनी गर्ने विप्लव समूहले नै आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ । त्यस्तै आज बिहानै दोलखा सदरमुकाम चरिकोटमा रहेको एनसेल टावरमा पनि आगजनी गरिएको छ ।

पानोरमा रिसोर्टनजिक रहेको टावरमा सोमबार बिहान आगो लागेपछि थाहा भएको रिसोर्टकी म्यानेजर बिन्दा चौलागाईँले बताइन् ।
प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले टावरमा पुरै क्षति भएको बताए । आगजनी कसले गरेको अनुसन्धान भैरहेको उनले बताए ।
विप्लवको चेतावनि
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्का र गर्न आग्रह गरेको छ । एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।
‘आजैका दिनदेखि घर, आँगननजिक, घरको छतमा राखिएका एनसेलका टावरहरू हटाउन र एनसेलको सिम बहिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अपिल गर्दछ,’ नेकपा पाल्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विप्लव समूहको निशानामा देशभरका एनसेल टावर पर्दै आएका छन् । गएराति मात्रै मकवानपुरका दुई एनसेल टावरमा आ गज नी भएको छ ।

 

सम्बन्धित खवर