सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

काठमाडौं, माघ १२ । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ। आइतवार दिउँसो ३ बजेदेखि बसेको प्रतिनिधसभाको बैठकमा अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण रहनुभएको थियो। माघ ७ गते सभामुखको उम्मेदवारी दर्ता भएको थियो। सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गर्नुभएको थियो। गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो।

को हुनुहुन्छ सापोकटा ?

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट सापकोटाको २०१४ साल फागुन २४ गते जन्म भएको हो। अन्नपूर्णपोष्टका अनुुार साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको हो। २०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जेल जीवन बिताउनुभएको थियो । २०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सापकोटा पराजित हुनुभएको थियो।

२०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका उहाँ माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत हुनुहुन्थ्यो। समाजशास्त्रमा स्नातकोत्तर गरेका उहाँ २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुनुभएको थियो। साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन समेत गर्नुभयो । सापकोटाले शिक्षण पेशा छोडेर राजनीति गर्नुभएको हो।

२०५२ सालबाट भूमिगत हुनुभएको उहाँ माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै हुनुहुन्थ्यो। सापकोटा २ पटक मन्त्री भइसकेको नेता हुनुहुन्छ। सूचना तथा सञ्‍चार र वन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेक्नुभएको छ। उहाँ अहिले नेकपा स्थायी समिति सदस्य हुनुहुन्छ।

सापकोटाको व्यक्तिगत विवरण

जन्म मितिरस्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ

आमाको नामः तिलमाया सापकोटा

बुबाको नामः धनपति सापकोटा

स्थायी ठेगानाः चौतारा साँगाचोकगढी न।पा वडा नं ४, सिन्धुपाल्चोक

शैक्षिक योग्यता: स्नातक, त्रिभुवन विश्वविद्यालय

पारिवारिक स्थितिः श्रीमती, तीन छोरा

पेशा र अनुभवः

१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

पार्टी सदस्यता मिति र पार्टीको नामः

वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)

पार्टी जिम्मेवारीः

स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

राजकीय जिम्मेवारीः

वि.सं. २०६४- चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत ९३०,१७५० ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।

वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री

वि.सं. २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विजयी एकमात्र सांसद ।

वि.सं. २०७३ –नेपाल सरकारको वन तथा भू(संरक्षण मन्त्री

वि.सं. २०७४ – प्रतिनिधिसभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी (ह्याट्रिक)

संक्षिप्त राजनीतिक जीवन

वि.सं. २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व

वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)

वि.सं. २०३७ – शिक्षक संर्घष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष

वि.सं. २०४८ – मा शिक्षकबाट राजीनामा दिइ पूर्णकालीन राजनीतिमा सक्रिय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य

वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत

वि.सं. २०५२ – फागुनवाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रीय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्व्युरो सदस्यमा निर्वाचित

वि.सं. २०५८ – पार्टीवाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी

वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते

वि.सं. २०६२र२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाई जनआन्दोलनमा परिचालनको नेतृत्व

वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनबाट पोलिट्व्युरो सदस्य

वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता

वि.सं. २०७१ – मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य

वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य

वि.सं. २०७५ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य

सम्बन्धित खवर