झापा सदरमुकाम क्षेत्रमा पछिल्लो समयमा भुस्याहा कुकुरको आतङ्क बढेको छ। भुस्याहा कुकुरको टोकाइबाट चौपाया मार्न थालेका छन् भने मानिस घाइते भएका छन्। भुस्याहा कुकुर नियन्त्रण तथा रोकथाममा नगरपालिकाले चासो नदेखाएको स्थानीयहरुले गुनासो गरेका छन्।
भारतीय सीमासँग जोडिएको भद्रपुर नगरपालिका–३ भैसाबाडी गाउँमा भुस्याहा कुकुरले दिनहुँ घरपालुवा जनावर टोक्न थालेको छ। कुकुर टोकाइबाट रेबिज लागेर खसी, बाख्रा, कुखुरा मार्दा समेत नियन्त्रण गर्न कसैले चासो नदेखाएको स्थानीय वासीलाल गणेशले गुनासो गरे।
‘भैसाबाडी गाउँमा जस्तो गाई र खसी–बाख्रा, नगरको कुनै स्थानमा पालिएको छैन,’ उनले भने, ‘मेरै आठवटा खसीब्राखा थिए, भुस्याहा कुकुरले मार्दा अहिले तीनवटा मात्र छन्।’ भैसाबाडीका काशीलाल राजवंशी, श्रवण गणेश, धिरेन राजवंशी, फेनेस गणेश, मुना तातीलगायतको किासानका खसी, बाख्रा भुस्याहा टोकेर मारिदिएको स्थानीय रतिया राजवंशीले बताए। दिनहुँ भुस्याहा कुकुरले गाउँमा घरपालुवा जनावर मार्दा पनि जनप्रतिनिधिले चासो नदेखाएको उनको भनाइ छ ।
भद्रपुर–९ मा पनि कुकर आतंक छ। देवकोटा चोक आसपासका क्षेत्रहरूमा दिनहुँ कुकुरले गाईवस्तु तथा खसीबाख्रा टोकेर मार्न थालेको छ। पुष्पा भट्टराई, वृहस्पति पोखरेल, बाबुराम ढकालको बाख्रालाई टोकेर मारिदिएको छ।
कुकुरले ब्राखा मारिदिएको गुनासो लिएर नगरपालिका पुगे पनि सुनवाइ नभएको उनीहरुको भनाइ छ। यसअघि पनि भद्रपुर–३ मा भुस्याहा कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी चौपाया मरेका थिए।
गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसीबाख्रालगायतलाई कुकुरले टोकेपछि रेबिज लागेर मरेका थिए।
यता पशु सेवा केन्द्रका अधिकृत गणेश भट्टराईले नगरको भुस्याहा कुकुर आतङ्क बारेमा स्थानीय तहबाट कुनै पनि जानकारी नआएको बताए। ‘भुस्याहा कुकुर आतङ्क नियन्त्रणका लागि कुनै अभियान सञ्चालन गरिएको छैन,’ उनले भने, ‘कार्यालयमै कुकुरलाई भ्याक्सिन लगाउने काम मात्र गरिरहेका छौ।’
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नेपालको कानुनमा कुकुर मार्न नपाइने भएको बताए। नगरपालिकामा कुकुर आतङ्क बढेको बारे कही कतैबाट जानकारी नआएको उनले बताए।




