जमिन्दार आन्दोलनका योद्धा गुमायौँ, लिला बल्लभ अधिकारी

जमिन्दार आन्दोलनका योद्धा गुमायौँ, लिला बल्लभ अधिकारी

भीमराज अधिकारी, पथरी
कम्युनिष्ट आन्दोलनका धरोहर पुराना कम्युनिष्ट चिन्तक दाताराम लुइटेलकोे आज १३ औँ दिनको पुण्य तिथि सकिएको छ । पथरी शनिश्चरे ६ हिलेटोल निवासी लुइटेलको ८८ वर्षको उमेरमा यही पौष २८ गते निधन भएको हो । उहाँको १३ औँ दिनको पुण्य तिथिमा पारेर एक औपचारिक कार्यक्रमको आयोजना गरी परिवारजनले साँडे ४ कठ्ठा जमिन सार्वजनिकीकरण गरेका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथि रहनुभएका क्षेत्र नं. २ ख का प्रदेश सांसद लिलाबल्ल्भ अधिकारीले पुराना कम्युनिष्ट चिन्तक गुमाएको स्मरण गर्नुभयो । विद्यार्थी आन्दोलन ताका गाउँका जमिन्दार पञ्चहरुसंग डटेर लड्ने योद्धा गुमाएको भन्दै आगामी पुस्ताले उहाँको जीवनीबाट निकै कुरा सिक्नुपर्ने बताउनुभयो । अधिकारीले भन्नुभयो ‘‘हसन्दह क्षेत्रमा कम्युनिष्टको विजारोपण गर्दै समाज रुपान्तरणमा निरन्तर लाग्नुभएका दाताराम लुइटेलको योगदान चिर स्मरण रहने छ । यस क्षेत्रमा जमिन्दार आन्दोलन चलाउने योद्धा नै दाताराम लुइटेल हुनुहुन्थ्यो उहाँलाई हामीले गुमायौँ । यो १३ औँ दिनको पुण्य तिथिमा उहाँप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु ।’’

आगामी दिनमा उहाँको योगदानको कदरका लागि लुइटेल स्मृति उत्थान मार्फत आफुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको पनि अधिकारीले बताउनुभयो । अब समितिले सो जग्गामा के बनाउने, कस्तो बनाउने सम्पूर्ण डिपिआर तयार गरेर यही चैत्र सम्ममा बुझाए आफुले आउने आर्थिक वर्षको बजेटमा समाबेस गर्ने पनि अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो । सो डिपिआरका लागि वडा र नगरले सहयोग गर्न पनि अधिकारीले अनुरोध गर्नुभयो ।

जेठा दाजु स्व. हरि प्रसाद, आमा स्व. विष्णुमाया र स्व. बाबु दाताराम लुइटेलको स्मृतिमा सो जग्गा सार्वजनिकीकरण गरिएको कार्यक्रमका अध्यक्ष एवं साइला छोरा नरनाथ लुइटेलले बताउनुभयो । हिजो १२ औँ दिनमा जुठो सकेर आज १३ औँ दिनका दिन केही सामाजिक काम गर्ने सोचका साथ जग्गा सार्वजनिक गरिएको लुइटेलेल बताउनुभयो । खोटाङ जिल्लामा रहँदा पनि स्कुल स्थापना गरेर आफैले अध्यापन गराउने, सार्वजनिक स्थानमा कुवा खनाउने जस्ता थुप्रै सामाजिक काममा उहाँ सक्रिय रहेको स्मरण लुइटेलले गर्नुभयो । लुइटेल स्मृति उत्थानका लागि गोविन्द लुइटेलको अध्यक्षतामा १७ सदस्य कार्यसमिति तयार गरिएको छ । संविधान सभा सदस्य चण्डी प्रसाद राई प्रमुख सल्लाहकार रहनेगरी ७ सदस्य सल्लाहकार समिति र कृष्ण प्रसाद लुइटेल संयोजक रहनेगरी ११ सदस्य व्यवस्थापन समिति समेत गठन भएको नरनाथले बताउनुभयो ।

सो अवसरमा मोरङ जिल्ला समन्वय समिति सभापती नरेश पोखरेलले आफु विद्यार्थी आन्दोलनका बेला दातारामसंगै बसेर योजनाहरु बनाउने, संगै बसेर समाज रुपान्तरणका कुराहरु गर्ने गरेको स्मरण गर्नुभयो । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष जयबहादुर तामाङले आफ्नो वडा भएकाले सो सार्वजनिक क्षेत्रको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सम्बन्धित खवर