६० लाखको लगानीमा कृषि फर्म, सरकारी अनुदान शुन्य

६० लाखको लगानीमा कृषि फर्म, सरकारी अनुदान शुन्य

भीमराज अधिकारी, पथरी

‘‘समृद्ध नेपाल सुखी नेपाली’’ भन्ने नारालाई सार्थकता दिनका लागि विदेश छाडेर नेपालमै कृषिमा रमाउनेको संख्या दिनदिनै बढ्दै गएको छ । लाखौ लगानी गरेर कृषि पेशामा लागेता पनि सरकारी अनुदान नपाएको गुनासो जताततै बढेर गएको छ । कृषिको अनुदान साच्चिकै सहि कृषकमा नपुगेको गुनासोको चाङ गाउँ गाउँमा छन् । यस्तै गुनासो मोरङ पथरी शनिश्चरे ५ का भिम प्रसाद गिरीको पनि छ ।

११ वर्ष खाडीको तातो घाममा पसिना बगाएका गिरीले २०६३ सालमा ३० हजारको लगानीमा बोइलर कुखुरा पाल्न सुरु गरेका थिए । विस्तारै आम्दानी बढ्दै गएपछि गिरीले कुखुरा र त्यसका लागि आवश्यक संरचना थप्दै गए । हाल ६० लाख बराबरको लगानीमा भोटेघुम्ती कृषि फर्मका नाममा बंगुर फर्मपनि संचालन गरेका छन् । हाल फर्ममा गिरी परिवारका ६ जनाले आफै दिनरात मेहनत गरिरहेका छन् । गिरी परिवार बाहेक अन्य २ जनाले पनि रोजगार पाएको गिरीले बताए । अहिले विदेश छाडेर बसेका २ भाइ छोरा, बुहारी र श्रीमान, श्रीमती सबै फर्ममा खट्ने गरेको गिरीले सुनाए । अहिले सबै खर्च कटाएर वार्षिक ६ देखि ७ लाख सम्म बचत हुने गरेको गिरीको भनाइ छ ।
यति खर्च गरेर कृषि फर्म चलाइरहदा पनि अनुदानको कुनै पनि रकम नपाएको गुनासो छ गिरीको । ‘यत्रो लगानी गरेर खटेका छौँ खै अनुदान भनेको रेडियो, टिभीमा मात्रै सुनियो । कसले खान्छ अनुदान ? अनुदान लिन कति लगानी गर्नुपर्ने हो ? केही बुझिएन ।’ गिरीले भने ।

हाल ३ हजार वढी बोइलर कुखुरा रहेका छन् । यस्तै अहिले बंगुर पनि २२ वटा माउले सरदर १० वटा बच्चा जन्माउने गरेका छन् । ३ महिना पछि बंगुरको भुनी, बुच्चा ६ हजार देखि ८ हजार सम्ममा बिक्री हुने गरेको छोरा सुजन गिरीले बताए । मासुका लागि नभएर बच्चा उत्पादनकै लागि आफुहरुले माउ पाल्ने गरेको गिरीको भनाइ छ । उन्नत जातका २ वटा बीर आफैले पालेको गिरीको भनाइ छ । हाल खोरमा हेमसायर, ड्योग र योगसायर जातका बंगुर छन् । यी बंगुरहरु २ के.जी सम्मको हुनेगरेको सुजनको भनाइ छ । सबै बंगुरहरुको बिमा गरिएको गिरीले बताए । करिब १ बिगाहा क्षेत्रफलमा फैलिएको फर्ममा अब बाकीँ रहेको जग्गामा तरकारी र अझै फर्म थप्ने योजना रहेको गिरी परिवारले बताए । अहिले सक्कली किसानले भन्दा पनि जनप्रतिनिधीकै सेटिङमा नक्कली किसानले कागज मिलाएर अनुदान झ्वाम पार्ने गरेको कृषकको गुनासो छ ।

तस्वीरमा भोटेघुम्ती कृषिफर्म

सम्बन्धित खवर