सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब विजयी भएको छ । थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आजकाे भएकाे पहिलो खेलमा थ्री स्टारले खेलको छैटौं मिनेटमा शुशिल राईकाे गोलको मद्दतमा अग्रता लिएको थियो । केहि दिन अघि क्लबमा अनुबन्ध भएका भरतीय खेलाडी लालको पासमा शुशिलले गोल गरे ।
सुरुवाती १० मिनेटभित्र एक गोल गर्दै दबावमा राखेको थ्री स्टारलाई पहिलो हाफको इन्जुरी समयमा शेर्पाका स्टेफन समिरले गोेल गर्दै बराबरीमा ल्याएका थिए । बराबरी गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै शेर्पाले पूनः गोल खायाे । डि बक्स भित्र किपरलाई छक्काउँदै सन्जोक राईले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा थ्री स्टारले अग्रता बनायो ।
बल पोजिसन आफ्नो पकडमा राखेको शेर्पालाई दोस्रो हाफको ५०औं मिनेटमा नाइजेरियन खेलाडी ओलानडिरन हाजमत गोल गर्दै जित सुनिश्चित गरे । बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा थ्री स्टार ३–१ गोलले विजयी भयाे ।
जितसँगै महत्वपूर्ण तीन अंक बटुलेको थ्री स्टार लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा ७ अंककासाथ एघारौं स्थानमा यथावत छ ।