उखु किसान फेरि आन्दोलित

उखु किसान फेरि आन्दोलित

बक्यौता रकम नपाउको भन्दै उखु किसान संघर्ष समिति सर्लाहीले पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले पुस १८ मा किसानसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको घोषणा गरेका छन् । सरकारले पुस १८ गते काठमाडौंमा पाँच बुँदे सहमति गरी उखु किसानको पुरानो बक्यौता रकम ७ माघभित्र भुक्तानी गरिसक्ने सहमति गरेको थियो ।

किसानले पहिलो दिन १० माघमा कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ देखि १७ माघसम्म गाउँगाउँमा उखु किसान जनजागरण अभियान सञ्चालन गर्ने र १८ माघमा गोडैता बजारमा उखु किसानको भेला गरी नयाँ आन्दोलनको स्वरूप र मिति तय गरिने संघर्ष समितिसर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए । सरकारले उखु किसानलाई झुक्याएर काठमाडौंबाट घर पठाएकाले माघ १८ सम्म पनि किसानको बाँकी सबै रकम भुक्तानी नपाए कडा आन्दोलन गर्ने रायले चेतावनी दिए । उनले विगतमा सरकार र उद्योगसँग भएको सहमतिको तत्कालै कार्यान्वयन गरी आन्दोलनको अवस्था आउन नदिन आग्रहसमेत गरे । सर्लाही सञ्चालित तीनवटा चिनी उद्योगमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनले मात्र किसानको पुरै रकम भुक्तानी गरेको छ ।

बाँकी महालक्ष्मी सुगर मिल बगदहले १० करोड र अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड किसानको रकम भुक्तानी गर्ने बाँकी रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

सम्बन्धित खवर