सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ। डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको पालको गेटमा भेटिएको बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ।
बुधवार बिहान ३ बजे भेटिएको बम सेनाको टोलीले मध्याह्न पौने १२ बजे निष्क्रिय पारेको हो। यस्तै, डिलौशैनी गाउँपालिकाको म १ च ४८८ नम्बरको जिप पनि आजगनी गरिएको छ ।
नेकपाका अध्यक्ष पालको उक्त जिप गाउँपालिकाले भाडामा लिएको थियो। पालकै से १ च ४५९ नम्बरको स्काभेटरमा पनि आगजनी गरिएको छ । गाउँपालिकाको सम्पर्क कार्यालय पंसेरामा पनि आगजनी गरिएको छ ।
वडा नम्बर ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन कक्षमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रशासन कक्षको ताल्चा फुटाएर गरिएको आगजनीबाट कम्युटर, दराज र अन्य महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए।
आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। डिलाशैनी गाउँपालिका केन्द्रबारे लामो समयदेखि विवाद हुँदै आएको छ ।
राज्य पुनर्स्थापना हुँदा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नम्बर ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप छ ।
डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष बोहराले भने केन्द्रका विषयमा असन्तुष्ट पक्षले आगजनी गरेको हुनसक्ने आशंका गरेका छन् ।







