मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा (सान्ता) र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ स्थित ग्रीन सिटी अस्पताल लगिएको छ । तामाङको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ ।
मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा समूहमा आएको टोलीले खुकुरी र ढुंगामुढा प्रहार गरेको शान्ताका आफन्तहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङकाअनुसार दुई समूहकाबीच पहिलेदेखि जारी रहेको आपसी विवादको कारण झडप भएको हुन सक्ने प्रारम्भिक अनुुन्धानले देखाएको छ ।
घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा धादिङकै नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
धादिङको उत्तरी भेगको दार्खा क्षेत्रमा पेसेवर गुण्डागर्दीमा संलग्न रहेका अशोक तामाङको निर्देशनमा घटना भएको पीडितका आफन्तहरुले बताएका छन् । घटनामा संलग्न राम तामाङ विभिन्न आपराधिक घटनामा संलग्न रहँदै पटकपटक पक्राउ समेत परिसकेका व्यक्ति हुन् ।
धादिङ प्रहरीले उत्तरी धादिङका अपराधिक जालो तोड्न बिशेष अभियान सञ्चालन गर्दै आएको पनि हत्या हिंसाका घटनामा कमि आउन भने सकेको छैन् । थाहाखबर
