होटलको हबको रुपमा विकासित हुदै सिन्धुली

होटलको हबको रुपमा विकासित हुदै सिन्धुली

सिन्धुली,७ माघ– बीपी राजमार्गमा यातायातको चाप बृद्धिसँगै सिन्धुली जिल्लाका विभिन्न ठाँउ होटलको हबको रुपमा विकासित हुदै गएका छन् ।

बीपी राजमार्ग खुलेसँगै सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी सहित खनियाखर्क, खुर्कोट, खाल्टे, मुल्कोट, रातमाटा र नेपालथोक सहितका ठाँउमा ठुला लगानीका होटल खुल्न थालेको हो । काठमाडाँैसँग पुर्वी पहाड तथा तराईका जिल्लालाई छोटो दुरीमा जोड्ने बीपी राजमार्गसँग जोडीएका यी ठाँउमा यतिखेर सयौं होटल खुलिसकेका छन् ।

सुनकोसी गाँउपालिका स्थित मुलकोटमा खुलेका होटल मध्ये ६० प्रतिशत बढी होटलहरु व्यवस्थित रहेको स्थानिय बासिन्दा बताउछन् । “ट्याक सडक खुलेदेखिनै होटल खोल्ने क्रम सुरु भएको थियो यस क्षेत्रमा,” सुनकोसी गाँउपालिका–६ निवासी नबिन पौडेलले भन्नुभयो, ”राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएपछि मुल्कोटमा करोडौ लगानीका होटल धमाधम खुलेका छन् । खुलेका होटल सबै भरीभराउनै हुन्छन् ।”
सुनकोसी गाँउपालिका अन्तर्गतका खाल्टे, चैनपुर, मुलकोट, रातमाटा र नेपालथोक लगायतका ठाँउ होटलको हबको रुपमा विकसित हुदै गएको उहाँले सुनाउनुभयो ।

बीपी राजमार्गसँग जोडिएर निर्माणधिन अवस्थामा रहेको मध्यपहाडी राजमार्गले पुर्वी पहाडका ओखलढुङा, सोलुखुम्बु, खोटाङलाई जोडेको छ । तराई र पूर्वी पहाडका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाण्डौसँग जोड्ने भएकाले बीपी राजमार्गमा सधै यातायातका चाप हुने पौडेलको भनाई छ ।

यात्रा गर्ने क्रममा बीपी राजमार्गको नागबेली दृश्यको अवलोकनका लागि बीपी राजमार्ग रोजाईमा पर्न थालेपछि यस क्षेत्रमा होटल खुल्न थालेको हो । “यहाँका धेरै होटल सधैजसो भरीभराउ हुन्छ,” सुनकोसी गाँउपालिकाका उपाध्यक्ष दिर्बुसिंह मोक्तानले भन्नुभयो, “सोलुखुम्बु जाने पर्यटकलेनै धेरैजसो ठुला होटल भरिएका हुन्छन् ।” उहाँका अनुसार ठुला तथा साना लगानीका होटल बीपी राजमार्गमा प्रसस्तै खुलेका छन् ।

स्थानीय बासिन्दाका अनुसार पछिल्लो समयमा सबैभन्दा बढी होटल मुल्कोट र खुर्कोटमा खुलेका छन् । राजमार्ग निर्माणले जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको आवागमन बढेपछि व्यवसायीहरुले होटलमा लगानी गर्न थालेका हुन् ।

नयाँ होटल खोल्ने र पुरानाले सुविधा थप्न थालेपछि होटल व्यवसायमा लगानी बढेको सिन्धुली होटल व्यवसायी संघका महासचिव सिताराम पहाडी बताउनुहुन्छ । “मानिसहरुको आवत जावत बढेसंगै बीपी राजमार्गका छेउ–छेउमा यात्रुहरुको सुविधाको लागि होटलहरु सञ्चालन हुने क्रम वढेको हो,” उहाँले भन्नुभयो, “मुल्कोटमा सुविधा सम्पन्न होटल रिर्सोट समेत खुलेका छन् ।”

एक दशक अघिसम्म जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सामान्य काठका घरमा सिमित रहेका होटल यतिखेर ठूला होटलमा परिणत हुदै गएको स्थानीय बासिन्दा बताउछन् । “ठूला–ठूला पक्कि घरमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ,” सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र बैदार भन्नुहुन्छ, “पहिले भिआईपी पाहुन आउदा कता राख्ने भन्ने समस्या थियो, अहिले जति आएपछि राख्नको समस्या छैन । सुविधा सम्पन्न होटल दिनदिनै थपिदै गएका छन् ।” ठूला होटल बढेसँगै पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुगेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर