च्यासललाई हराउँदै आर्मी शीर्षस्थानमा उक्लियो

च्यासललाई हराउँदै आर्मी शीर्षस्थानमा उक्लियो

विभागीय टोली त्रिभुवन आर्मी क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युवा क्लबलाई ३-० ले पराजित गर्यो ।

खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि अग्रता लिन भने असमर्थ रहे । दोस्रो हाफको ५८ औं मिनेटमा कप्तान भरत खवासले उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाए । मिडफिल्डबाट सेसेहाङ आङदेम्बेले दिएको थ्रु पासमा भरतले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको शक्तिशाली प्रहार च्यासलका गोलरक्षक एलन न्यौपानेेले बचाउन सकेनन् ।

आर्मीका लागि ७३ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । च्यासलको कर्नर विफल भएपछि अगाडि बढेको आर्मीको काउन्टर अट्याकमा विकास खवासको वन भर्सेस वनको प्रहारलाई एलनले बचाए । तर त्यसको रिबाउन्डमा अनमार्क रहेका नवयुगले पेनाल्टी क्षेत्रभित्र सहजै गोल गरे ।

खेलको ५ मिनेट समय बाँकी रहँदा आर्मीले अर्को गोल थप्दै जित पक्का गर्यो । पेनाल्टीमा सन्तोष तामाङले गोल गर्दै आर्मीका लागि महत्त्वपूर्ण तीन अंक सुनिश्चित गरे । पेनाल्टी क्षेत्रभित्र छिरिङ गुरुङले नवयुगलाई लडाएपछि प्राप्त पेनाल्टीमा सन्तोषले गोल गरेका थिए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा आर्मीले अग्रता बढाउने अर्को अवसर पायो । तर नवयुगको पेनाल्टी प्रहार पोस्टमा लाग्दै गोलमा परिणत हुन सकेन । छिरिङले दिनेश हेन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो ।

यस जितसँगै आर्मीले अंक तालिकाको शीर्ष स्थानमा उक्लँदै ३ अंकको अग्रता बनाएको छ । आर्मीले ७ खेलमा ५ जित, १ बराबरी र १ हारसँगै १६ अंक बनाएको छ । दोस्रो स्थानको मनाङ र तेस्रो स्थानको मछिन्द्रको समान १३-१३ अंक रहेको छ । यता च्यासल भने ७ खेलमा १ जित, ३ बराबरी र ३ हारसँगै ६ अंकसाथ १२ औं स्थानमा नै अड्किएको छ ।

सम्बन्धित खवर