हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गर्दा शीर्षस्थानको मछिन्द्र क्लब स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ ।
पहिलो हाफकै अग्रतालाई जोगाउँदै शेर्पाले लिगमा महत्वपूर्ण जित हासिल गरेको छ । पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रका लागि विजय श्रेष्ठले २० औं मिनेटमा गोल गरेका थिए । निरज बस्नेतको फ्रिकिकमा विजयले हेडमार्फत गोल गरेका थिए ।
लिगको सातौं चरणको यो पहिलो खेल हो । लगातारको वर्षाका कारण एन्फाले आजको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो । सातौं चरणको पहिलो खेलमा आइपुग्दा अब अपराजित एक मात्र टोलीका रुपमा मनाङ मस्र्याङ्दी क्लब रहेको छ ।
बाँकी सबै टोली पराजित भएका छन् । सातौं खेलमा आएर पहिलो जित दर्ता गरेको शेर्पाको खातामा अब ६ अंक पुगेको छ । मछिन्द्रको ७ खेलमा ४ जित र २ बराबरी र १ हार सहित १३ अंक छ । अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ ।
मछिन्द्रको हारले त्रिभुवन आर्मी क्लब, मनाङ, रुस्लान थ्री स्टारलाई फाइदा पुग्न सक्छ । आर्मीको १३ अंक छ । मनाङ मस्र्याङ्दी क्लबको १२ र रुस्लान थ्री स्टार क्लबको १० अंक छ ।