वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको झाँगाझोली रातमाटामा यात्रुलाई खाना खुवाउन रोकिएका गाडीहरु । कमिसनको खेलमा राजमार्ग आस्पास खुलेका यस्ता होटलमा गुणस्तरहिन खाना खानु परेको यात्रुको गुनासो बढ्दै गएको छ ।
सिन्धुली ३ माघ –लामो समयदेखि बजार अनुगमन नहुदा वीपी राजमार्गका होटलमा यात्रुहरु गुणस्तरहिन खाना उपभोग गर्न बाध्य भएका छन् ।
वीपी राजमार्गमा सबार चाप बढेसँगै होटलहरुले खानाको गुणस्तरमा भन्दा व्यापारमा प्रतिस्पर्धा गर्न थालेपछि गुणस्तरहिन खाना उपभोग गर्न बाध्य हुन परेको यात्रुहरुको गुनासो पाईन्छ । वीपी राजमार्ग अन्तर्गत पर्ने नेपालथोक, झाँगाझोली रातमाटा, पुरानो झाँगाझोली, खाल्टे, खुर्कोट, खनियाखर्क र चियाबारी यात्रुका लागि खानाखुवाउने मु्ख्य जक्सन पर्दछन् ।
होटलले ड्राईभरलाई दिने कमिसनको खेलले नै यात्रुहरु मारमा परेका वीपी राजमार्गबाट यात्रा गर्दै बिराटनगर हिडेका यात्रु आयुस फुयाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘खाना खानेठाँउ यात्रुको भन्दा पनि ड्राईभरको रोजाईमा पर्दछ । यात्रुलाई के थाहा ? कुन होटलमा कस्तो खाना खुवाउछ !’
‘जहाँ ड्राईभरलाई बढी भत्ता मिल्छ, त्यही होटलमा गाडी रोक्छन् । ड्राईभरलाई यात्रुको के मतलब,’ उहाँलेभन्नुभयो, ‘कमिसनको खेल्ले यात्रुले बासी र सडेगलेका खाना समेत खान बाध्य हुनु परेको छ ।’ त्यसो त वीपी राजमार्ग हुदै पूर्वी पहाडी र तराईका जिल्लासम्म पुग्ने साना तथा मझौला गाडी दैनिक हजारौको संख्यामा सञ्चालनमा छन् । तीनै गाडीका यात्रुलाई खाना खुवाउन लक्षित गरी प्रशस्तमात्रामा होटल खुल्ने क्रम बढ्दो छ ।
कमिसनको खेलमा एउटा होटलले दैनिक २० वटासम्म गाडीका यात्रुलाई खाना खुवाउने गरेको स्थानीय बताउछन् । खाना खुवाउन यात्रु ल्याए बापत ड्राईभरले एक पटकमा पाँच सयदेखि एक हजार रुपैयासम्म नगद, सय रुपैयाको रिचार्ज र अर्डर अनुसारको मासु खाना खान पाउने पुरानोझाँगाझोली निवासी शम्भु मगर बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘नियमन निकायले बेला बेलामा होटलहरुमा अनुगमन नगर्दा यो समस्या आएको हो । वीपी राजमार्ग पूर्णरुपमा सञ्चालन आएको चार बर्ष बित्न लाग्यो, यहाँ खुलेका होटलमा अहिलेसम्म अनुगमन भएको थाहा छैन ।’ होटलमा खान पाईने परिकारको मूल्य पनि मनपरि रहेको उहाँले बताउनुभयो ।
एउटै खानाको मूल्य होटलैपिच्छे फरक–फरकसमेत रहेको यात्रुहरुको गुनासो छ । होटलमा खाना खान आउने यात्रु नियमित ग्राहक नभएर कहिले कही संयोगले आउने भएकोले पनि मूल्यमा मनपरि रहेको चियाबारी निबासी हिरा पाख्रिन बताउनुहुन्छ । यात्रुसँग सामान्य चिया २५ रुपैया, मःम १२० रुपैया, र खानाको तीन सय रुपैया प्राय होटलले लिने मूल्य हो ।
राम्रो कमाई हुने भएकाले वीपी राजमार्ग नै मिचेर होटल खुल्ने क्रम बढैको स्थानीय बासिन्दा बताउछन् । कमिसनकै खेलले राजमार्गका होटलमा खानाको गुणस्तर खस्किएको होटल व्यवसायि सङघ सिन्धुलीका महासचिब सिताराम पहाडी बताउनुहुन्छ ।
कमिसन नदिए गाडीवालाहरुले नरोक्ने भएकाले ग्णस्तरहिन खाना यात्रुलाई खुवाउन बाध्य हुनु परेको वीपी राजमार्गका होटल सञ्चालकले बताउने गरेको उहाँको भनाई छ । वीपी राजमार्गमा खुलेका अधिकांस होटल सङघमा दर्ता नभएको जानकारी दिदै उहाँले भन्नुभयो, ‘अब प्रहरी र डिभिजन खाद्य संस्थानसँग समन्वय गरी वीपी राजमार्गका होटलमा अनुगमन गरी खानाको गुणस्तरलाई सुधार्न प्रयत्न गर्छौ ।’ जिल्ला भरिमा ३२५ होटल मात्रै संघमा दर्ता भएका उहाँले बताउनुभयो ।