नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा केहीबेर अघि सम्पन्न पुरुष भलिबलमा आर्मीले आरजे भलिबल ग्रुपलाई ३–० सेटले पराजित गरेको हो । आर्मीले आरजे ग्रुपलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो ।जितसँगै आर्मीले दुई अङ्क जोडेको छ । प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ सात टोलीको सहभागिता छ । पुरुषतर्फ अहिले सशस्त्र प्रहरी बलको एपिएफ क्लब र रारा बुलबुले क्लबबीच खेल भइरहेको छ ।
पुरुष भलिबलमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । चारै समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । पुरुषतर्फको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, आरजे भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब, समूह ‘बी’ मा एपीएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, समूह ‘सी’मा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब तथा समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस् क्लब र बुद्धटोल युवा भलिबल क्लब छन् ।