मौसम अपडेट ः हिमालमा हिमपात, पहाड र तराईमा वर्षा, जनजीवन प्रभावित

मौसम अपडेट ः हिमालमा हिमपात, पहाड र तराईमा वर्षा, जनजीवन प्रभावित

शुक्रबार बिहानैदेखि देशको उच्च हिमाली भेगमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको छ । वर्षा र हिमपातपछि देशभरको जनजीवन प्रभावित बनेको छ ।
बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै देशको माथिल्लो भागमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
‘बुधबार बिहानदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण अहिले उच्च हिमाली भेगमा हिमपात तथा देशका अन्य भागमा वर्षा भइरहेको छ,’ मौसमविद् पोखरेलले भनिन् ।
महाशखाले शुक्रबार बिहान ८ः४५ बजेसम्म गरेको मापनअनुसार, सबैभन्दा बढी दाङमा २९ मिलिलिटर पानी परेको छ । त्यसपछि वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा बढी वर्षा भएको छ ।
महाशाखाका अनुसार, वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा अहिलेसम्म क्रमशः २४, २३ र २१ मिलिलिटर पानी परेको छ । सिमरामा १८, नेपालगञ्जमा १० र डडेल्धुरामा ८ मिलिलिटर वर्षा भएको महाशाखाको रेडर्कमा उल्लेख छ ।
वर्षा र हिमपातले देशको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भएपछि आमनागरिकले कठिनाइ झेलेका छन् । देशको उच्च भागमा परेको हिमपातले जनजीवन थप कष्टकर बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहनेछ । शनिबारबाट भने मौसम विस्तारै सुधारिँदै जाने मौसमविद्को प्रक्षेपण छ ।

सम्बन्धित खवर