सुनसरी प्रशासनको निर्देशनमा सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले गोरुको भन्सार नकाट्दा तस्करी बढेको पाइएको छ ।
चालु आर्थिक वर्षको सुरु देखिनै स्थानीय प्रशासनको निर्देशनमा गोरुको भन्सार नकाटेको सुनसरी भन्सार कार्यालयले जनाएको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत प्रमोदकुमार दासका अनुसार वाणिज्य मन्त्रालयको सूचनाअनुसार गोरु निकासीमा कुनै बन्देज लगाउन नपाइने हो । तर,स्थानीय प्रशासनको निर्देशनमा हाल सुनसरी भन्सार कार्यालयले गोरु निकासी गर्ने कार्य बन्द गरेको भन्सार अधिकृत दासले बताए ।
भन्सार कार्यालयले निकासी गर्ने कार्य बन्द गर्दा निकासी गर्न पाउने अधिकारबाट सर्वसाधारण वन्चित भएका छन् । अर्को्तिर नेपालबाट तस्करी गरी भारततर्फ ला राजस्व असुलीसमेत प्रभावित हुने गरेको छ । सुनसरी भन्सार कार्यालयले दिएको जानकारीअनुसार साउनमहिनादेखि हालसम्म अवैधानिक रूपमा भारततर्फ लादै गर्दा प्रहरीले २० लाख २२ हजार रुपैयाँ बराबरको पशुजन्य वस्तु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ । जसमा ३ लाख ६६ हजार मुल्य बराबरको ६० वटा गाई गोरु,बाछाबाछी छन् भने १० लाख ४४ हजार मुल्य बराबरको १२९ वटा पाडा रांगा बरामद गरिएका छन् ।
त्यसैगरी ६ लाख १२ हजार मुल्य बराबरको १२१ वटा खसी बाख्रा सुनसरीको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सारमा बुझाएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । निकासी गर्दा औसत रूपमा मासिक २ सयको संख्यामा गोरुको भन्सार काटिदै आएकोमा चालु आर्थिक वर्षको सुरु देखिनै स्थानीय प्रशासनको निर्देशनमा निकासीमा रोक लगाउँदा भन्सार प्रभावित भएको भन्सार अधिकृत दासको भनाइ छ ।
भन्सार काटेर नेपालबाट गोरुको निकासी गर्दै आएकोमा स्थानीय प्रशासनले भन्सार काट्न बन्देज गरेपछि व्यापारीहरुले सुनसरीको विभिन्न नाका हुँदै भारततर्फ गोरुको तस्करी गर्दै आएका छन् ।
सुनसरीको विभिन्न नाकामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करहरुले गोरुको तस्करी गराउने गरेको श्रोतको भनाइ छ । भन्सार काट्न जादा समेत काट्न नमानेकोले बाध्य भएर अवैधानिक रूपमा भारततर्फ गोरु लाने गरिएको नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले बताए ।
हामीले वैधानिक रूपमा भन्सार काटेर गोरु लैजान तयार छौ ति व्यापारीले भने तर,स्थानीय प्रशासनको निर्देशन भन्दै सुनसरी भन्सार कार्यालयले भन्सार काट्न मानेको छैन ।
वर्षौंदेखि गोरुको व्यापार गरेरै जीविकोपार्जन गर्दै आएको र भन्सार काट्न बन्द गरेपछि जीविका चलाउने अरु कुनै विकल्प नभएकोले अवैधानिक रुपमा कारोबार गर्दै आएको उनको भनाइ छ ।
कानुनअनुसार आफूहरू भन्सार तिरेर वैधानिक तरिकाले व्यापार गर्ने पक्षमा रहेको बताउदै ति गोरु व्यापारीले तत्काल गोरुको भन्सार काट्ने व्यवस्थापन मिलाईदिन सुनसरी प्रशासन समक्ष आग्रह गरेका छन् ।
यता यसबारे बुझ्न सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई सम्पर्क गरेपनि उनको फोन उठेन भने सहायक प्रमुख जिल्ला अधिकारीले गोरु निकासी पहिलादेखि बन्द रहेको प्रतिक्रिया दिए ।
![स्थानीय प्रशासनले गोरु निकासी रोक्दा गोरु तस्करी बढ्यो](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2020/01/gai-goru-taskari.jpg?fit=1000%2C521&ssl=1)