भीमराज अधिकारी, मोरङ
माघ १ गते लाग्ने पूर्वको सबैभन्दा ठुलो मेला माइमेलामा ठेकेदारले दोब्बर दस्तुर उठाएका छन् । नेपाल भ्रमण वर्षको अवसरमा अझै धेरै पर्यटक लोभ्याउनुपर्ने बेलामा घुम्न आउनेको ढाड सेक्नेगरी दस्तुर असुलेको भनेर चौतर्फी विरोध भएको छ ।
मकर संक्रान्तीको अवसरमा १ नं. प्रदेश र छिमेकी देश भारतबाट समेत ठुलो संख्यामा मकर नुहाउन आउने गरेका छन् । खचाखच हुने माइमेलामा मौका छोपेर ठेकेदारले नगरसंगको सम्झौता भन्दा दोब्बर दस्तुर उठाएको नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले बताउनुभयो । ‘अघिल्ला वर्षहरुमा पनि एकसय रुपैया उठाने गरेको नै थियौँ । यो वर्ष पनि सोही दरमा उठाउने भनेर नगरसंग सम्झौता भएको थियो तर ठेकेदारले बढी रकम उठाएछन् । हामीले थाहा पाउनासाथ त्यसकार्यलाई रोकेका छौँ । ठेकेदारलाई कार्वाहीको प्रकृयामा लान्छौँ ।’ नगर प्रमुख पोखरेलले भन्नुभयो ।
ठेकेदारले मोटरसाइकल पार्किङको रु. २०० र कार तथा साना गाडीहरुको पार्किङ शुल्क रु. २५० लिएको रसिदहरु सर्वजनिक भएका छन् । यो विषयले यतिबेला सामाजिक संजालमा समेत चर्को विरोध भएको छ । नेपाल भ्रमण वर्ष मनाउन अझै प्रोत्साहित गनुपर्ने समयमा पर्यटकलाई लुटतन्त्र मच्चाएको भनेर नगरपालिकाको समेत आलोचना भइरहेको छ ।