बेलबारी मालपोतमा कर्मचारीको दादागिरी, पत्रकारलाई तुरुङ हान्ने धम्की

बेलबारी मालपोतमा कर्मचारीको दादागिरी, पत्रकारलाई तुरुङ हान्ने धम्की

अर्जुन कुलुङ राई, बेलबारी

सरकारी कार्यालयहरुको सेवा प्रवाहमा सबैभन्दा गुनासो आउने गरेको कार्यालयमा मालपोत रहेछ ।

बेलबारी मालपोत कार्यालयको कार्यशैली हेर्दा पनि नागरिकको गुनासो सहि भएको पुष्टि हुन्छ । बेलबारी मालपोत कार्यालयका कर्मचारीबाट काम पूरा गराउनु ‘महाभारतको लडाई जित्नु सरह’ हुने गरेको सर्वसाधरणको गुनासो छ । यहाँका कर्मचारीले एक–दुई घण्टामा हुने काम पनि दुई–चार दिन झुलाई दिने गरेको सेवाग्राही बताउँछन् ।

बेलबारी मालपोत कार्यालयका कर्मचारी कतिबेला आउने र फर्कने भन्ने समयको टुङ्गो नहुने सर्वसाधरण बताउँछन् । पुस २९ गते मालपोत कार्यालय पुग्दा सर्वसाधरणको गुनासो सहि देखियो ।

कर्मचारी कुर्दै सेवाग्राही
                                                                                         कर्मचारी कुर्दै सेवाग्राही

कार्यालयमा सेवाग्राही सर्वसाधरणको भिड देखिए पनि दिउँसो ३ बजे नै कार्यालयको मोठ फाँटमा ताला लगाइएको थियो । दिउँसै ताला लगाएर मोठका कर्मचारी कता निस्किए भन्ने पत्तो नभए पनि धेरै सर्वसाधरण कर्मचारी कतिबेला आउँलान् र काम सकेर घर फर्किने भएर ढोकामै कुरेर बसिरहेका थिए ।

मोठ फाँटको ढोकामा कर्मचारीको खाजा खाने समय २ बजे देखि २ः३० बजेसम्म लेखिएको थियो । तर, यो समयको पनि कर्मचारीले पालना नगरेपछि असक्त, वृद्ध सेवाग्राही गुनासो गर्दै फाँट अगाडि कुरेर बसिरहेका थिए । धेरै समयको प्रतिक्षापछि मुकुन्द न्यौपाने नाम गरेका एक कर्मचारी आएर कार्यालयको ताला खोलेर कार्यकक्षमा पसे ।

                                                                                       कार्यालयमा भोटे ताल्चा

सेवाग्राहीले दिउँसै कार्यकक्षमा ताला झुण्ड्याएर बाहिर निस्किँदा आफूहरुलाई समस्या परेको गुनासो सर्वसाधरणले राख्न नपाउँदै कर्मचारी न्यौपाने बम्किए, ‘कार्यालय कतिबेला खुल्ने भन्ने कुरा तपाईको नियमले हुन्छ ?’ दुई कर्मचारी रहने उक्त फाँटमा अझै पनि अर्का एक कर्मचारी देखिएनन् ।

कर्मचारीले मनखुसी कार्यालयमा ताला झुण्ड्याएर बाहिर निस्किँदा सर्वसाधरण मारमा परेको बारे मालपोत प्रमुख योगेन्द्र दुलालसँग गुनासो राख्दा कर्मचारीको खाजा खाने समय १ बजेदेखि २ बजेसम्म मात्र भएको बताए । उनले सर्वसाधरणको गुनासो सुन्न आफू तयार रहेको बताए पनि गैरजिम्मेवार कर्मचारीलाई स्पष्टिकरण लिनेबारे कुनै कुरा गरेनन् ।

सर्वसाधरणको गुनासो सुनेर न्यौपानेको गैरजिम्मेवारीपनबारे कार्यालयको प्रमुखसँग कुरा गरेपछि मोठ फाँटका न्यौपाने थप रन्किए । म पत्रकार भएको कुराको मेसो पाएपछि कर्मचारी न्यौपाने मिडियाप्रति खनिए । आफू २० वर्षदेखि जागिर खाइरहेको ‘रवाफ’ देखाउँदै न्यौपानेले मिडियाप्रति आक्रोश पोखे, ‘यस्ता मिडिया बन्द गरिदिनु पर्ने, पत्रकारलाई तुरुङमा हाल्नु पर्ने ।’

बेलबारी मालपोत कार्यालयका कर्मचारी सेवाग्राहीमैत्री त छैनन् नै, न त भवन नै सहज खालको छ । भाडाको घरमा रहेको भवन अपाङ्ग, असक्त र वृद्धवृद्धालाई सेवा लिन समेत असजिलो खालको छ । कर्मचारीबाट हप्कीदप्की खानुपर्ने दैनिकी त यहाँका लागि सामान्य जस्तो छ ।

सम्बन्धित खवर