नेपाल प्रहरीले यसअघि बरामद् गरेर बुझाएको ३०४ बोतल अवैध मदिरा इलामको करदाता सेवा कार्यालयले आज नष्ट गरेको छ । सिक्किममा बनेको प्रतिबोतल ७५० एमएलको उक्त सिक्किमे मक्स जिल्लास्तरीय अवैध मदिरा नियन्त्रण समितिको निर्णय र रोहबरमा नष्ट गरिएको हो ।
मदिरा नष्ट गर्ने क्रममा कर अधिकृत प्रकाश राईसहित इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे, इलाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकुमार गौतम, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सफल पोर्तेल, इलाम उद्योग वाणिज्य संघका महासचिव हेमन्त गौतमसहितको उपस्थिति रहेको थियो ।
नष्ट गरिएका मदिराका बोतलहरुमा उत्पादन मिति नरहेको र कतिपयमा भारतीय अन्तशुल्कको स्टिकर भएको तथा कतिमा नभएको कर अधिकृत राईले जानकारी दिएका छन् ।
उक्त मदिरा नियमित गस्तिका क्रममा पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले बरामद् गरेर करदाता सेवा कार्यालयलाई बुझाएको हो । इलाका प्रहरी कार्यालयले कात्तिक १९ मा ११२ बोतल र मंसिर २२ मा १९२ बोतल करदाता सेवा कार्यालयलाई बुझाएको हो । उक्त मदिरा करदाता सेवा कार्यालय नजिकै धोविधारामा नष्ट गरिएको हो ।
