प्रकृति बलात्कार, मुद्दा यौन दुव्र्यवहार

प्रकृति बलात्कार, मुद्दा यौन दुव्र्यवहार

पाँचथरमा किशोरी बलात्कारको घटनालाई प्रहरीले ‘कमजोर मुद्दा’ बनाउन खोजेको आफन्तले आरोप लगाएका छन् ।
मिक्लाजुङ गाउँपालिकाकी १५ वर्षीया किशोरी सुतेकै अवस्थामा बलात्कारको शिकारमा परे पनि प्रहरीले ‘यौन दुव्र्यवहार’ मा मुद्दा दर्ता गरेको आफन्तको भनाइ छ । किशोरी बलात्कारमा मिक्लाजुङका ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । तर, पक्राउ परे पनि मुद्दालाई कमजोर बनाउन यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरेका कारण अपराधी उम्काउन प्रहरीले चलखेल गरेको आफन्तले बताएका हुन् ।
पुस १९ गते रातको समयमा किशोरीलाई बलात्कार गरेका थिए । पीडितले दिएको उजुरीका आधारमा गहतराज पक्राउ परेका थिए । न्यून आर्थिक अवस्था भएकी किशोरीलाई प्रलोभन तथा दबावमा पारेर बयान फेर्न लगाइरहेको आफन्तको भनाइ छ । पीडित बालिकाले सञ्चारमाध्यममा बास्तविक घटना बताए पनि दबावका कारण बयान फेरेको आफन्तको भनाइ छ ।
बालिकाका आमाबुबाले पनि घटना घटेको होइन भन्दै आएका छन् । पछिल्लो समयमा बालिकाले मिडियामा सत्य बोलेको र प्रहरीमा बयान फेरेका कारण घटना थप पेचिलो बनेको पीडितका आफन्तले बताए । अनुसन्धानमा खटिएको प्रहरीले फितलो अनुसन्धान गरेका कारण आफन्त थप सशङ्कित भएको उनको आरोप छ ।
गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय रविबाट खटिएको महिला प्रहरीले अनुसन्धान गर्दा ‘आमाले घटना घटेको हाइन भनेकी छन्, तिमीले पनि घटना घटेको छैन भन्ने बयान देऊ’ भनेका कारण आफूले बयान फेरेको भन्दै पीडितले आफूलाई सुनाएको ती आफन्तले बताए । घटनाको विषयमा पीडितका भाइले पनि सबै कुरा खुलाएका छन् । यता जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रोमनराज अर्यालले पीडितको आमा, आफन्तको बयानका आधारमा यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरेको दाबी गरे ।
उनले आमा तथा आफन्तले दिएको बयान आफूहरूसँग सुरक्षित रहेकाले हल्लाका पछाडि नलाग्न आग्रह गरे । जबरजस्ती करणी गर्न खोजेको अनुसन्धानबाट खुलेको बताएको छ । गहतराजले पीडित किशोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा परिवारका सदस्यले प्रतिकार गरेपछि घटना हुन नपाएको बताएको छ । तर आफन्तले घटनाको पुनः अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । ब्लाष्टखबर

सम्बन्धित खवर