तेह्रथुममा बन्यो लिम्बु संस्कृति झल्काउने चोत्लुङ पार्क

तेह्रथुममा बन्यो लिम्बु संस्कृति झल्काउने चोत्लुङ पार्क

लालीगुराँस नगरपालिकामा लिम्बु समुदायको इतिहास(संस्कृति झल्कने चोत्लुङ पार्क बनेको छ । नगरपालिकाभित्र बसन्तपुर बजारको भुल्केधारा नजिकै दक्षिण पट्टि निर्मित पार्कमा लिम्बुहरुको संस्कार(संस्कृति सम्बन्धी सबै सामाग्री संग्रहित छन् ।
लिम्बु भाषामा ‘चोत्लुङ’ शब्दको अर्थ सिद्धि हो । लिम्बु जातिका लागि यो पार्क हिन्दुहरुका लागि काशी, वौद्वमार्गीका लागि लुम्विनी वा बौद्धगया र मुसलमानका लागि मक्का(मदिना जस्तै हुने लिम्बु अगुवाहरुको भनाइ छ ।
रैथाने वास्तु शैलीमा निर्मित पार्कको मुख्य भवन वरिपरि लिम्बु मुन्धुममा वर्णित सिङ्चाङ्गो यामचाङ्गो (धसिङ्गरे), फुन्छिङर (पैयू) पाङ्ब (मजिटो), माङयाम्बुङ (फच्याङ), तेतलासे (केरा) लिसिङ फा (मालबांस)लगायतका वनस्पतिहरु रोपिएका छन् ।
पार्कको पूर्वपट्टि चोत्लुङ वरक (सिद्धि पोखरी) बनाइएको छ । बाटामा ढुंगाको आकर्षक चौतारो र फलैंचाहरु बनाइएका छन् । लिम्बु संस्कृतिमा ढुंगाको ठूलो महत्व छ । ती सारा कुरा चोत्लुंग पार्कमा झल्काउन खोजिएको छ ।
पार्कमा निर्मित युमा संग्रहालयको उद्घाटन प्रख्यात कवि वैरागी काँइलाबाट उधौली पर्वको अवसरमा भर्खरै गरिएको छ । युमा लिम्वु जातिकी आदि माता हुन् ।
यूमा संग्रहालयमा गोर्खालीसँगको लडाइँमा लिम्बुहरुले प्रयोग गरेका हातहतियार, पुराना सिक्का लगायत ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरु हेर्न पाइन्छ । चोत्लुङ पार्क यो क्षेत्रको मुख्य पर्यटकस्थल बन्ने लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ बताउँछन् ।

सम्बन्धित खवर