एकल महिलाको सामूहिक उद्यम

एकल महिलाको सामूहिक उद्यम

यसअघि सामूहिक रुपमा सेनिटरी प्याड उत्पादन गरेका दमकका एकल महिलाहरु अहिले जुत्ता उत्पादनमा जुटेका हुन्। नगरका एकल महिलाहरुले सञ्जाल गठनसँगै आयमुलक काम सुरु गरेका हुन्।
सामूहिक उद्यमबाट प्राप्त आम्दानीलाई नियमित बचत गर्न थालेका छन्। एकल महिला समूह, दमक बनाएर संगठित भएका उनीहरू हाल मखमलका जुत्ता बनाउने उद्यम थालेका हुन्।
दमक नगरपालिकाले दिएको तालिमले उनीहरुलाई उद्यमी बन्न सजिलो बनाएको हो। समूहमा आवद्ध दमक–१ की नुमा काफ्लेले घरमा त्यसै खेर जाने समय उपयोग गर्न पाएको र यसबाट आम्दानी समेत भइरहेको बताइन्। प्रारम्भिक चरणमा सामूहिक उद्यम गर्न नगरपालिकाले कच्चा पदार्थ र आवश्यक उपकरण खरिद गरिदिएको छ।
नगरपालिकाले दिएको तालिमपछि १४ जनाले दैनिक भेला भएर जुत्ता बनाउँदै आएका छन्। सुरुवाती समय भएकाले उनीहरुलाई काम गर्ने ठाउँको भाडा तिर्नुपर्ने बाध्यता पनि छैन।
नगरपालिकालेनै कामगर्ने ठाउँ समेत उपलब्ध गराएको छ। तालिममा पाएको ज्ञानलाई व्यवहारिक रुपमा उपयोग गर्दै काम गर्न पाएकोमा उनीहरु हर्षित छन्।
दैनिक रुपमा एकजनाले १० देखि १२ जोडीसम्म जुत्ता तयार पार्ने गरेका छन्। जाडोका लागि समेत उपयोगी हुने यस्ता जुत्ता गुणस्तरअनुसार ३०० रुपैयाँभन्दा माथि मूल्यका छन्।
जुत्ता आकर्षक भएकाले विभिन्न व्यक्तिबाट माग आउने गरेको समूहकी सदस्य हेमन्ता घिमिरेले बताइन्। जुत्ता तथा प्याड उत्पादनबाट दैनिक कम्तीमा ४०० रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। थाहाखबर

सम्बन्धित खवर