श्रमिक बैंक स्थापनाको तयारी

श्रमिक बैंक स्थापनाको तयारी

सरकारले मुलुकभरका श्रमिकलाई एकै ठाउँमा समेट्ने गरी श्रमिक बैंक स्थापना गर्ने नयाँ अवधारणा अघि सारेको छ । सिंहदरबारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले देशभरीका सबै श्रमिकलाई एकै ठाउँमा जोड्नका लागि श्रमिक बैंकको स्थापनाको अवधारणा ल्याइएको बताउनुभयो ।
यस विषयमा तीन महिनाभित्र अध्ययन सक्ने र त्यसका लागि विभिन्न तहको गृहकार्य जारी रहेको मन्त्री यादवको भनाई छ । बैंकमार्फत श्रमिकलाई सीप प्रदान गर्न सातै प्रदेशमा सीप विकास तालिम केन्द्र सञ्चालन गर्ने पनि श्रम मन्त्री यादवले बताउनुभयो ।
सो बैंकबाट फरक– फरक इच्छा र रुचिअनुसारको श्रम भएका श्रमिकलाई प्रशिक्षण तथा प्रशिक्षित श्रमिकलाई बैंकमार्फत नै विभिन्न क्षेत्रमा श्रममा लगाउने सरकारको तयारी छ । खासगरी, कृषि, प्लम्बर, उद्योग, सिलाइ, घरेलु उत्पादन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा ती श्रमिक लैजान सकिने उहाँले बताउनुभयो ।
यसअघि सरकारले विदेश जाने कामदारले पठाउने रेमिटेन्स सदुपयोगमा केन्द्रित रहँदै श्रम बैंक स्थापना गर्ने जनाएको थियो । स्वदेश भित्रने अरबौँ रुपैयाँ रेमिटेन्स श्रम बैंककै सिष्टममार्फत ल्याई कामदारको आफन्तलाई भुक्तानीमा पनि सजिलो गराउने अवधारणा यसको रहेपनि स्थापना हुन सकेको छैन । सरकारले आगामी ३ महिनाभित्र यसको निक्यौल गरिसक्ने प्रतिबद्धता भने जनाएको छ ।

सम्बन्धित खवर