दुहबी कटहरी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाई

दुहबी कटहरी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाई

दुहबी कटहरी ३३ केभी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाई हुँदा कटहरी रंगेली कोेरिडोर क्षेत्रका उद्योगहरुमा विद्युतको समस्या यथावत रहेको छ ।
प्रसारण लाइन तान्ने कार्य अझै नसकिएको र कटहरी सब स्टेशन निर्माण हुन नसकेकोले कटहरी सब स्टेशन चार्ज गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ । सम्बन्धित ठेकेदार र कर्मचारीले काममा ढिलाई गर्दा महिनौ देखिको काम अलपत्र परेको छ । दुहबी कटहरी प्रसारण लाइन क्षेत्रमा पर्ने मोरङको ग्रामथान गाँउपालिका वडा नं. ५ गिदनियामा स्थानीयहरुले हाइटेन्सन लाइनका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै प्रसारण लाइन तान्न अवरोध गर्दै आएका थिए ।
मुख्यमन्त्री शेरधन राईको पहलमा कात्तिक १ गते भूमिगत तार तान्ने गरी ४५ दिन भित्र काम सम्पन्न गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी र ग्रामथान गाँउपालिकाको अध्यक्ष बीच सहमति भएको थियो ।
सहमति पछि करिब ३ किलोमिटर क्षेत्रमा भूमिगत तरिकाले प्रसारण लाइन तानिसकिएको छ । तर अन्य क्षेत्रको तार तान्ने काममा ढिलाई र सबस्टेशनको तयारी पछि पुष मसान्त सम्ममा कटहरी सबस्टेशन चालु हुने नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर भूमिगत तार तान्ने काम भएपनि अझैसम्म काम सम्पन्न नहुँदा त्यस क्षेत्रका उद्योगी व्यापारीहरुले गुनासो गरेका छन् । महिनौं देखि प्रसारण लाइन तान्न नसक्दा कटहरीमा निर्माण गरिएको सबस्टेशन चार्ज हुन सकेको छैन । यसले गर्दा कटहरी रंगेली कोरिडोरमा लो भोल्टेज र विद्युत ट्रिपिङको समस्या भईरहेको छ । आवर बिराटनगर

सम्बन्धित खवर