अष्ट्रेलियाको डढेलोमा मरे झन्डै पचास करोड पशुपंक्षी

अष्ट्रेलियाको डढेलोमा मरे झन्डै पचास करोड पशुपंक्षी

सिड्नी, अस्ट्रेलिया यतिबेला वातावरणीय संकटमा गुज्रिएको छ। तीन महिनादेखि लागेको डढेलोका कारण सयौं घरबारविहीन भएका छन्। डढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन्।

गाइवस्तुसँगै जंगलमा रहेका हजारौं कंगारू तथा अन्य जनावर डढेलोले सखाप बनाएको तथ्य हालै सार्वजनिक भएको छ। जसमा कीरा फट्यांग्रा बाहेक चराचुरुङ्गी समेत जोडेर ४९ करोड पशुपंक्षी आगलागीमा परेर मरेका छन्।

युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्राध्यापक क्रिस डिकम्यानले बिबिसीलाई ४९ करोड पशुपंक्षी मारिएको तथ्यांक दिएका छन्।

अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कैयन् बस्तीहरु आगलागीका कारण सखाप भएका छन्। त्यति मात्र होइन डढेलो र धुवाँले अस्ट्रेलियाकै वातावरण बिग्रिएको छ।

अहिले राजधानी क्यानबेरा, सिड्नी, मेलवर्नजस्ता शहरको हावा निकै प्रदुषित रहेको विशेषज्ञले बताएका छन्। यो डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ।

आगलागीकै कारण २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेका छन् भने दुई हजार ६ सय घरहरु नष्ट भएका छन्। अझै धेरै स्थानमा यसको प्रभाव पर्ने क्रम जारी छ।

एनएसडब्लु सरकारले दुई पटक संकटकाल समेत धोषणा गरेर डढेलो नियन्त्रणको प्रयास गर्यो। पछिल्लो तीन महिनादेखि वर्षा समेत नभएका कारण चर्को घामले डढेलो विस्तार हुँदै गएको छ।

ग्रामीण अग्नि नियन्त्रकले मात्र यसको समाधान गर्न नसक्ने जनाउँदै सरकारले सेना समेत परिचालन गर्यो। यद्यपी आजसम्म डढेलो नियन्त्रणमा आउन सकेको छैन् ।
सेतोपाटीबाट

सम्बन्धित खवर