जिल्लाका विभिन्न स्थानीय तहका कृषि क्षेत्रमा काम गरिरहेको एसोसिएसन अफ एग्रिकल्चर नेपाल (आन) नामक कम्पनीले कृषकबाट लाखौं रुपैयाँ उठाएर फरार भएको छ ।
कम्पनीले बिउ, मल र बिरुवा वितरण गर्ने बहानामा जिल्लाका कृषकलाई ठगेर फरार भएको हो । सित्तैमा बिउ, बिरुवा, अनुदानमा कृषि औजार, पशुपालकलाई निब्र्याजी अनुदानको आश्वासन दिएर समूह बनाई सदस्यबाट रकम सङ्कलन गरेपछि कम्पनीका कर्मचारी कार्यालय बन्द गरेर फरार भएका छन् ।
कम्पनीले जिल्लाका विभिन्न गाउँका १२ सय बढी किसानलाई ठगेको छ । कृषि र पशुपालनमा सहयोग गर्ने भन्दै जिल्लाका १२ सय किसानबाट २४ लाखभन्दा बढी रकम सङ्कलन गरेर आन फरार रहेको किसान रेनुका बुढाथोकीले बताइन् । एक जना किसानबाट ५ सयदेखि २ हजार रुपैयाँसम्म उठाएको किसानहरूको भनाइ रहेको छ ।
२०७५ असारदेखि तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा कार्यालय स्थापना गरेको उक्त कम्पनीले एक वर्षको अवधिमा किसानसँग करिब २४ लाख ७५ हजार रुपैयाँ सङ्कलन गरेको थियो । तरकारी तथा अन्नबालीको बिउविजन, वनस्पतिका बिरुवा, कुखुराका चल्ला, उन्नत जातका बाख्रा तथा भैंसीपालनमा सहयोग गर्ने भन्दै कम्पनीले किसानसँग रकम उठाएको थियो ।
म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका, छथर गाउँपालिका र फेदाप गाउँपालिकामा कर्मचारी भर्ना गरेको कम्पनीले गाउँ–गाउँमा पुगेर कृषक समूह गठन गरेको थियो । ‘हामीले गाउँ–गाउँ पुगी किसानहरूबाट रकम उठाएर कार्यालयमा बुझाउँदै गयौं’ –कम्पनीका कर्मचारी समिर लिम्बूले भने । किसानको रकम लिएर योगेश खड्का फरार रहेका छन् ।
कम्पनीले कार्यालय स्थापना भएपछिको एक वर्षमा केही सीमित किसानलाई बिरुवा र तरकारीका बिउ वितरण गरेको थियो । ‘बिरुवा र तरकारी खेतीमा सहयोग हुन्छ भनेर आश्वासन दियौं, तर हामीलाई नै झुक्याएर प्रमुख बेपत्ता भए’ किसान रमा कार्कीले भनिन्, ‘पटक–पटक प्रयास गर्दा पनि कम्पनीका अध्यक्षदेखि प्रमुखसँग सम्पर्क हुन सकेको छैन ।’ कम्पनीले म्याङ्लुङमा स्थापना गरेको कार्यालयको भाडा पनि १ वर्षदेखि नदिएको घरधनी तुलसी ढकालले बताए ।
‘मासिक ६ हजार रुपैयाँ दिने शर्तमा भाडामा दिएको थिएँ, अहिलेसम्म भाडा पनि छैन, कोठामा पनि उनीहरूले नै ताला लगाएर बेपत्ता छन्’ घरधनी ढकालले भने, ‘कोठा खोलेर अरूलाई भाडामा दिन पनि पाएको छैन ।’
किसान र आफूहरू ठगिएको बारे प्रहरी प्रशासन र जनप्रतिनिधिलाई जानकारी गराए पनि सुनुवाइ नभएको पीडित कृषकहरूको भनाइ छ । उक्त कम्पनीले तेह्रथुमजस्तै ६६ जिल्लाका किसानलाई ठगी गरेको कर्मचारी बताउँछन् । कम्पनीका सञ्चालक गणेशदत्त भट्ट, कार्यक्रम संयोजक राजेश चौधरी, माया गुरुङ, शाखा प्रमुख मीना गुरुङ श्रेष्ठको मोबाइलमा सम्पर्क गर्न खोजे पनि सम्पर्क नहुने र स्वीच अफ मात्र हुने गरेको किसानहरूको भनाइ छ । ब्लाष्टखबर
