चालू आर्थिक वर्षमा धान उत्पादनमा सामान्य गिरावट आएको छ । यो वर्ष मुलुकभर कुल ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस वर्ष धान उत्पादनमा गत आर्थिक वर्षको तुलनामा एक प्रतिशत अर्थात ५९ हजार मेट्रिक टनले कमी आएको हो । गत आर्थिक वर्ष अहिले सम्मकै उच्च अर्थात ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो ।
चालू आर्थिक वर्ष धान उत्पादनमा केही कमी आएपनि विगतका तुलनामा अहिले सम्मकै दोस्रो सर्वा्धिक उत्पादनको रुपमा रहेको मन्त्रालयले जनाएको छ । विगत ५ वर्षको धान उत्पादनको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२र७३ को तुलनामा यस वर्षको उत्पादन करीब २९ प्रतिशतले अर्थात १२ लाख ५१ हजार मेट्रिक टनले बढेको छ ।
सोही अवधिको तुलनामा यस वर्ष उत्पादकत्व करीब २१ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा धान उत्पादनमा कमी आएपनि उत्पादकत्व भने बढेको मन्त्रालयले जनाएको छ । उत्पादकत्वको हिसाबले प्रदेश ३ सबै भन्दा उच्च र कर्णाली प्रदेश न्यून रहेको छ ।
समयमै रोपाइँ नहुनु, जमिन बाँझो हुनु, मनसुन ढिलो सुरु हुनु, केही स्थानका धान बालीमा कीराको प्रकोप तथा बीउका समस्या लगायत कारण उत्पादन घटेको मन्त्रालयले जनाएको छ ।
यस्तै, उत्पादनशिल युवा विदेश पलायन हुनु, कृषि श्रमिक उपलब्धतामा आएको असहजता, घडेरीकरण जस्ता कारणले गर्दा पनि धान उत्पादन घटेको मन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा सबै भन्दा बढी प्रदेश २ मा १४ लाख २० हजार ४ सय ३६ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
प्रदेश १ मा १२ लाख ४५ हजार ५ सय ४५, प्रदेश ५ मा ११ लाख ८५ हजार ४ सय ९३ मेट्रिक टन, सुदूरपश्चिम प्रदेशमा ६ लाख ४६ हजार ५९ मेट्रिक टन, प्रदेश ३ मा ५ लाख १० हजार २ सय १ र गण्डकी प्रदेशमा ४ लाख ८ हजार ७ सय ३७ मेट्रिक टन धान उत्पादन भएको छ । सबै भन्दा कम कर्णाली प्रदेशमा १ लाख ३४ हजार ४ सय ७ मेट्रिक टन मात्र धान उत्पादन भएको छ । रेडियो कान्तिपुर
