नेपालको घरेलु क्रिकेट लिग खेलिसकेका विदेशी खेलाडीलाई समावेश नगर्ने गरी एभरेष्ट प्रियिमर लिग क्रिकेट ईपीएलको नयाँ मिति सार्वजनिक भएको छ ।
आयोजक ईपीएलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता आगामी चैत १ देखि १५ गतेसम्म गर्ने जनाएको छ ।
यसअघि फागुन १७ देखि चैत १ सम्म प्रतियोगिता आयोजना गर्ने भनिएको थियो ।
प्रतियोगिताको नयाँ मितिलाई क्रिकेट संघ क्यानले अनुमति प्रदान गरिसकेको र अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई जानकारी गराइएको आयोजकले जनाएको छ ।
आयोजकले यसपटक विदेशी खेलाडीको हकमा नयाँ व्यवस्था गरेको छ । जसअनुसार नेपालको घरेलु फ्रेञ्चाइज लिग खेलेका विदेशी खेलाडी यसपटक ईपीएलमा सहभागी हुन पाउने छैनन् ।
यसैगरी प्रतियोगिताका लागि प्रथम श्रेणीका खेलाडीको नाम पनि आयोजकले सार्वजनिक गरेको छ ।
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, शरद भेषावकर, सन्दिप लामिछाने, आरिफ शेख, रोहित कुमार पौडेल, सुवास खकुरेल, सोमपाल कामी प्रथम श्रेणीमा अटाएका छन् ।
त्यस्तै ललित नारायण राजवंशी, कुशल भुर्तेल, पवन सरार्फ, बसन्त रेग्मी, प्रदीप ऐरी, सुसन भारी र अभिनाष बोहरा पनि प्रथम श्रेणीमा पर्ने खेलाडीमा अटाएका छन् ।
प्रथम श्रेणीमा अटाउने खेलाडीको न्युनतम बोली साढे २ लाख रुपैयाँ तोकिएको छ । खेलाडी अनुबन्धको मिति आगामी सातासम्म रहेको छ ।
