नक्कली स्मार्टलाइसेन्स बनाउने ६ जना पक्राउ

नक्कली स्मार्टलाइसेन्स बनाउने ६ जना पक्राउ

प्रहरीले नक्कली स्मार्ट लाइसेन्स र सरकारी कार्यालयका कर्मचारीको नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ

पक्राउ पर्नेमा सर्लाही लालबन्दी घर भई काठमाडौं जडिबुटी बस्ने २७ वर्षीय दिपक ब्लोन, सर्लाही हरिवन नगरपालिका–१ घर भई काठमाडौं कुलेश्वर बस्ने ४८ वर्षीय शुभाष भन्ने बुद्धिबहादुर रोक्का, काठमाडौं महानगरपालिकाका–६ बौद्ध चुच्चेपाटी बस्ने ३६ वर्षीया अनन्ता गुरुङ, बारा जितपुर घर भई काठमाडौं अनामनगर बस्ने ३१ वर्षीय अशोक कार्की, सिरहा घर भई काठमाडौं कोटेश्वर बस्ने ४१ वर्षीय मोहन यादब र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ५६ वर्षीय कुमार तण्डुकार रहेका छन् ।
नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको नक्कली परिचयपत्र बनाई बिक्री गरी प्रयोग गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखा टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरिरहेको थियो ।
अनुसन्धानकै क्रममा आशिष स्टुडियोका संचालक बुद्धि बहादुरको साथबाट दिपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, बिभिन्न व्यक्तिको सवारी चालक अनुमतिपत्र ४ थान, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड र फोटो कन्सर्न प्रालिबाट लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजहरूको परिचय पत्रहरूको प्रिन्ट, सिपियु, कटर मेशिन, प्रिन्टर, हार्ड ड्राइभ सर्भर समेत बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबै जनालाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर