व्यवसायी स्व भरतलाल श्रेष्ठ र सञ्चार उद्यमी स्व पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ। सो अवार्ड यही पुस १९ गते सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ समारोहमा प्रदान गरिने छ।
भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा पुष्करलाल मिडिया अवार्ड क्रमशः समाज सेवा र नेपाली मिडियाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरुलाई प्रदान गरिने कामना न्यूज पब्लिकेसन्स् प्रालिका प्रेसिडेन्ट तथा सिईओ दिरेकलाल श्रेष्ठले जानकारी दिए। भरतलाल र पुष्करलाल श्रेष्ठ नाताले बाबु छोरा हुन।
लायन्स क्लबलगायतका समाजसेवी संस्थामा रहेर आजीवन सेवा पुर्याएका भरतलालको २०७२ सालमा निधन भएको थियो भने कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा मिडिया उद्यमी एवम् पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्ष उमेरमा गत वैशाख ४ गते निधन भएको थियो।
दुवै स्मृति अवार्डका लागि ताम्रपत्रका साथ एक–एक लाख रुपियाँ प्रदान गरिनेछ। अवार्ड पाउने व्यक्तित्वको नाम सम्मान समारोहमै घोषणा गरिने श्रेष्ठले बताए ।
