नेपाल भ्रमण वर्षमा प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

नेपाल भ्रमण वर्षमा प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

प्रदेश १ सरकारले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा मुख्यमन्त्री एवं प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिका संरक्षक शेरधन राईले पानसमा बत्ति बालेर उद्घाटन गर्दै भ्रमण वर्षको सुरु भएको औपचारिक घोषणा गरेका हुन् ।
विभिन्न जातजाति तथा समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकीसहित उद्घाटन गरिएको हो । त्यस अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, एनसिसिएन र नेपाल स्काउटको टोलीले कार्यक्रम स्थलमा कवाज प्रदर्शन गरेको थिए ।
प्रत्यक्ष देखिने खालको प्रभावकारी र भ्रमण वर्षलाई लक्षित गर्दै विशेष अर्थ राख्ने कार्यक्रमबिना नै परम्परागत शैलीकै नृत्य, झाँकी प्रदर्शन र हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै झारा टार्ने हिसावमा यसको शुभारम्भ गरिएपछि प्रदेश सरकारको आलोचना सुरु भएको छ । हेलिकप्टरबाट पुष्पवृष्टि भनिए पनि अविर मिसाएर प्लाष्टिकका टुक्रा वर्षाइएको थियो । पर्यटन क्षेत्रसँग सम्बद्ध, सरोकारवाला र सर्वसाधारणको उपस्थित भने न्यून थियो ।
कार्यक्रममा विद्यार्थी र सुरक्षाकर्मीको भव्य उपस्थिति थियो । आठ हजार क्षमताको शहीद रंगशालाको प्याराफटको ८० प्रतिशत भाग विद्यार्थीले भरिएको प्रत्यक्षदर्शी एवं सामाजिक अभियन्ता सीता बस्नेतले बताइन् । मुलुकलाई समृद्ध बनाउने नारा दिएर पर्यटकलाई भित्र्याउनका लागि गरिएको भ्रमण वर्ष घोषणा यही तरिकाले अघि बढ्ने हो भने घोषणामै सीमित हुने बस्नेतको भनाइ छ ।
प्रदेश सरकारले एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । मुख्यमन्त्री राईले प्रदेश १ लाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय बजारमा गुणस्तरीय पर्यटन गन्तव्यको रुपमा विकास गर्दै यो लक्ष्य पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक र जैविक विविधताले धनी प्रदेश १ मा रहेका सम्पदाहरु र अघि बढाएका योजनाहरु पर्यटन प्रवर्द्र्धनको आधार बन्ने उनको भनाइ छ ।
नेपाल भ्रमण वर्षको अवसर पारेर अन्तर्रा्ष्ट्रिय सम्मेलन, खेलकुद प्रतियोगिता, चलचित्र महोत्सव जस्ता महत्वपूर्ण कार्यक्रमहरु आयोजना गरिने राईले बताए । संसारकै होचो अरुण उपत्यका, मुलुककै होचो स्थान कचनकवलदेखि संसारकै अग्लो सर्वोच्च शिखर सगरमाथा, राष्ट्रिय निकुञ्जहरु, आरक्षणहरु, संरक्षण क्षेत्र भएको प्रदेश जातीय विविधता र सांस्कृतिक विशेषतायुक्त भएकोले पनि पर्यटनको प्रचुर सम्भावना रहेको मुख्यमन्त्री राईले उल्लेख गरे ।
उनले पर्यटन वर्षले प्रदेशको विकास र समृद्धिको ढोका खोल्ने भएकाले पर्यटन व्यवसायीलाई आकर्षक प्याकेजहरु मार्फत पर्यटक आकर्षित गर्न आग्रह गर्दै यसमा सहयोग र्पुयाउन सबैमा अपिल गरे ।
नेपाल सरकारले तोकेको १ सय पर्यटकीय गन्तव्यमध्ये १६ प्रमुख गन्तव्य यस प्रदेशमा रहेको बताउँदै मुख्यमन्त्री राईले भ्रमण वर्षले रोजगारी, गरिबी निवारण, आर्थिक समृद्धिलाई समेत टेवा र्पुयाउने विश्वास लिए ।
कार्यक्रममा नौ जनालाई प्रदेश सरकारले पर्यटन सद्भावना दूतका रुपमा सम्मान र्गयो । जसमा २४ पटक सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका सोलुखुम्बुका कामीरिता शेर्पा, मिसेज एशिया यूनिभर्स २०१७ तथा शौन्दर्यकर्मी धरानकी पिंकी राजगरहिया, ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेका संखुवासभाका मिङ्मा शेर्पा, सानु शेर्पा, छाङ्दावा शेर्पा, ताप्लेजुङका मिङमा ग्याल्बो शेर्पा, अल्ट्रा म्याराथन धाविका भोजपुरकी मीरा राई, विराटनगरकी कलाकार दीपा श्री निरौला र नेपालकै अग्ला व्यक्ति ७ फुट ३ इन्च उचाइका सुनसरीका राजन अधिकारी छन् ।

सम्बन्धित खवर