नेकपा सचिवालय ः सभामुखको उम्मेदवार र विवादित एमसिसीबारे निर्णय भएन

नेकपा सचिवालय ः सभामुखको उम्मेदवार र विवादित एमसिसीबारे निर्णय भएन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले प्रतिनिधिसभाका सभामुखका उम्मेदवारको टुंगो लगाउन असफल भएको छ ।
आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा बसेको बैठकले सभामुखका उम्मेदवारको टुंगो लगाउन नसकेको हो ।
नेकपाभित्र सभामुखको उम्मेदवारलाई लिएर चर्किएको विवादले किनारा पाउन नसकेको हो। नेकपामा प्रतिनिधि सभाको सभामुखका लागि सुवासचन्द्र नेम्बाङ, उपसभामुख शिवमाया तुम्बाहाङ्फे र नेता अग्निप्रसाद सापकोटाबीच प्रतिस्पर्धा चलिरहेको छ ।
सचिवालय बैठकले विवादमा रहेको अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनबारे पनि कुनै निर्णय लिन सकेन। नेकपाका महासचिव विष्णु पौडेलले बैठकपछि बाहिरिँदै यी दुवै विषयमा सचिवालयमा कुनै निर्णय नभएको जानकारी दिए ।
नेकपामा सभामुख र एमसिसी विवादले गर्दा नेताहरु फरक धारमा उभिएका छन्। सभामुखकै विवादले पुस ४ गतेबाट सुरु भएको जारी प्रतिनिधि सभाको हिउँदे अधिवेशनसमेत स्थगित भएको छ ।
४ गते सुरु भएको अधिबेशन शुक्रबारबाट संसद सचिवालयले सूचना टाँस गरेर पौष १६ गतेसम्मको लागि संसद सचिवालयको बैठक स्थगित गराएको थियो। यस्तै, एमसिसीको विवादका कारणले नेकपाका नेताहरुले नै दुई गुटमा बाँडिएका छन् ।
एमसिसी विवादबारे नेकपाको स्थायी कमिटीको बैठक पनि अनिर्णित भएको थियो। इन्डो प्यासफिक रणनीतिकै अंश भएकाले यो अमेरिकी सहायता लिन नहुने नेकपाका एकतर्फी नेताहरुको भनाई छ ।
यसको विरोधमा नेकपाका नेताहरु भीम रावल, देव गुरुङलगायतका नेताहरु उत्रिएका छन्। तर, सरकारका प्रवक्ता गोकुल बास्कोटाले यसै संसद अधिवेशनबाट यो परियोजना पारित हुने प्रतिक्रिया दिएका छन्। अमेरिकी राजदटूततावासले समेत एमसिसीलाई एन्डो प्यासफिक रणनीतिकै अंश भनिसकेको छ ।
आइतवार बसेको सचिवालय बैठकमासमेत विवादमा रहेको बिषयमा निर्णय सकेको छैन । बैठकमा माघ ९ गते हुने राष्टिय सभाको निर्वाचनको बिषयमा समेत छलफल भएको थियो । नेकपाले राष्टियसभाको निर्वाचनमा राजपासँग तालमेल गरेको छ । थाहाखबर

सम्बन्धित खवर