विभिन्न प्रलोभनमा पारी नेपाली युवतीलाई बली दिन भारत लाने प्रयास गरेको आरोपमा हिरासतमा रहेका सप्तरीका ४० वर्षीय उमेश साहले आफूलाई प्रहरीले विनाकारण पक्राउ गरेको बताएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सात जनालाई काठमाडौ र मोरङबाट केहीदिन अघि नियन्त्रणमा लिई सार्वजनिक गर्दा साहले आफूविरुद्धको अरोप निराधार भएको दाबी गरेका हुन् ।
साहसहित प्रहरीले नवलपरासीको कावासोतीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, दाङकी २४ वर्षीया दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीया प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जित कुमार चौधरीलाई पक्राउ गरेको छ । प्रेममाया काठमाडौंबाट पक्राउ परेकी हुन् ।
बाँकी विराटनगरबाट पक्राउ परेका हुन् । नेपाली युवतीलाई बली दिने प्रयास गरेको प्रकरणमा पक्राउ परेकालाई सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुसँग उमेशले घटना बारे आफूलाई केही पनि थाहा नभएको तथा प्रहरीले यत्तिकै समातेको बताए ।
अन्य आरोपित तामाङ, माझी, पोदार र चौधरीले पनि आफूहरु निर्दोष भएको बताए । तर, प्रेमा र दिलकुमारीले भने कुनै प्रतिक्रिया दिनन् । मास्क लगाएर सञ्चारकर्मीहरु माझ प्रस्तुत गरिएका साहले आफूले लगाएको मास्क खोल्दै भने, ‘मैले लुकाउनुपर्ने के छ ? हामीलाई यो घटनाको बारेमा केही थाहा नै छैन ।’
सप्तरीको राजविराज नगरपालिका–१४ स्थायी घर भएका साहले फोन सम्पर्कका आधारमा मात्र हामीलाई समातेको हो भन्दै प्रहरीसँग आक्रोश पोखे ।
मोडल भनिएकी पीडित युवतीले आफूलाई बली दिने योजना बनाएको शंका लागेपछि काठमाडौं प्रहरीमा खबर गरेकी थिइन् । पुस ४ गते काठमाडौं प्रहरीमा उजुरी परेपछि प्रहरीको एक टोलीले तीन दिनपछि मोडल युवतीको निगरानी गर्दै विराटनगर पुगेको थियो ।
विराटनगर पुगेर मोडलिङको लागि बोलाएका आयोजकको गतिविधिमा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार्र याम्पमा मोडलिङ गरिसकेकी ती युवतीलाई प्रेममायाले मोडलिङ प्रोजेक्टमा काम गर्ने भन्दै फोन गरेकी थिइन् । सुरुमा उनलाई काठमाडौंमा र्नै याम्प शो गर्ने भनिएको थियो । तर, दिन बित्दै जाँदा शर्त र स्थान परिवर्तन भएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै प्रेममायाले पीडितसँग सम्पर्क बढाएकी थिइन । तर, उनको हाइट ६ फिट थिएन । युवती पनि राम्रो काम पाइने भन्दै मोडलिङका लागि राजी भएकी थिइन् ।
महानगरीय प्रहरी परिसर काठमाडौका एसपी अशोक सिंहका अनुसार युवतीसँग धर्म, माछारमासु खानेरनखाने जस्ता प्रश्न सोध्दै भारतसम्म र्पुयाउने योजना बनेको थियो । प्रोजेक्टका लागि भारतसम्म जानु पर्ने शर्तहरु राखियो । देवी बन्नुपर्छ भनेपछि युवतीलाई थप शंका लागेर प्रहरीसमक्ष आएकी हुन् ।
घटनाक्रम बुझेपछि काठमाडौ प्रहरीले पीडित भनिएकी युवतीसँगै एक जना प्रहरी निरीक्षकलाई विराटनगर पठाएको थियो । तर विराटनगर पुगेपछि आयोजकको शंकापूर्ण व्यवहार देखेपछि निगरानीमा रहेका उनीहरुलाई मोरङको बुढीगंगा–१ स्थित फुलचोकबाट नियन्त्रणमा लिईएको एसपी सिंहको भनाई छ ।
उनीहरु पक्राउपछि मात्रै उनीहरुको कर्तुत बाहिरिएको उहाँको भनाई छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ९ हजार रुपैयाँ, ७ थान मोबाईल, विभिन्न बैंकका ९ लाख बराबरको चेक, चाँदीको जन्तर, एटिएम कार्ड, तान्त्रिक पूजाका सामान बरामद भएको दाबी प्रहरीको छ ।
पक्राउ परेका सातै जनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा मानव बेचबिखन कसुरमा मुद्दा दर्ता गरेको छ । रेडियोकान्तिपुरमा प्रिन्स गौतमले लेखेका छन् ।
