सरकारले यो वर्षपनि उखुको मूल्य गत वर्ष कै कायम गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषको बैठकले उखुको मूल्य निर्धारण गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सिंहदरवारमा अयाोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको बताउनुभयो ।
न्यूनतम लागत, ढुवानी र अनुदान समेत गरेर चालू आर्थिक वर्षका लागि सरकारले उखुको मूल्य निर्धारण गरेको हो । उखुको मूल्य निर्धारण गर्नका लागि कृषि विभाग सिफारिस समिति गठन गरेको थियो । विभागले सिफारित गरेर कृषि मन्त्रालयलाई मूल्य पठाएको थियो ।
कृषि मन्त्रालयले विभागले सिफारिस गरेको उखुको मूल्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो । उद्योग मन्त्रालयले पेश गरेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले मूल्य निर्धारण गरेको हो ।
