वीरगञ्ज नाकाबाट ३१ महिलाको उद्धार

वीरगञ्ज नाकाबाट ३१ महिलाको उद्धार

चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय भनिएको माइती नेपाल नामक संस्थाले एक बर्षको अवधिमा वीरगञ्ज नाकाबाट ३१ महिलालाई उद्धार गरेको छ। २०१९ को जनवरीदेखि डिसेम्बरसम्ममा माइती नेपाल वीरगन्जले दलालहरुको चंगुलमा परि भारतमा बेचिएका ३१ जना महिलालाई नेपाल फर्काएको हो।
ती महिलाहरुलाई दिल्ली, कोलकत्ता, मोतिहारी, सुगौली, रामगढवा र रक्सौललगायतका ठाउँबाट उद्दार गरिएको माइती नेपाल वीरगन्ज शाखाकी प्रमुख संगीता पुरीले जानकारी दिइन्।सोही अवधिमा वीरगन्ज नाका हुँदै मानवतस्करहरुले भारत लैजान लागेका १७३ जनालाई बेचिनबाट जोगाएको माइती नेपालले दाबी गरेको छ।
पछिल्लो पटक मानवतस्करीको शैली समेत बदलिएको र बालबालिकाभन्दा विवाहित महिलाहरु तारोमा परेको सो संस्थाले जनाएको छ। सामाजिक सञ्जाल फेसबुक, चिनजानका मानिस, आफन्त र भारतबाट काम गर्न नेपाल आएका मानिसको मायाजालमा परि बढि पैसा कमाउने लालसाले अधिकांश विवाहित महिला बेचिने गरेको पाइएको छ।
भारतमा लगेर तालिम दिने भन्ने, तालिमका बहानामा पीडितबाटै रकम असुल्ने र केही दिनका लागि नेपाल फर्काइदिने, फेरि भारत बोलाएर बेचिदिने गरेको पुरीले जानकारी दिइन्। बेचिनेमध्ये अधिकांश पहाडी जिल्लाका रहेका र यसमा पुरुषहरुसमेत फस्ने गरेका छन्।

सम्बन्धित खवर