इलामको जोगमाई खोलामा लोअर जोगमाईखोला जलविद्युत आयोजना निर्माण शुरु भएको छ । एक अर्व १६ करोड लागतमा शुरु भएको आयोजना छ दशमलव दुइ मेगावाट क्षमताको रहेको छ ।
माइजोगमाई वडा चारको असले बेंसीबाट पाइपलाइन मार्फत पानी ल्याएर माइवेनीमा पावर हाउस निर्माण गरी विद्युत उत्पादन गर्ने बताइएको छ । हेडरेस पाइपलाइनको लम्बाई दुइ हजार नौ सय १२ मीटर रहने छ । अयोजनाको एक्सेस रोड र सेललिन बेसीन लगायतका संरचना तयार भइरहेको रेसिडेन्ट इञ्जिनियर राजेन्द्र पालले बताए ।
लोअर जोगमाई खोला जलविद्युत निर्माणमा एन एम बी बैक र एस वी आई बैकको लगानी रहेको छ । गत कार्तिक महिनादेखि निर्माण शुरु भएको आयोजना आगामी वर्षको असोज सम्ममा सक्ने लक्ष रहेको प्रवद्र्धक कम्पनी एशीयन हाइड्रोपावर कम्पनीले जनाएको छ ।
यो आयोजनाबाट सरदर ३६ दशमलव ४१ गीगावाट घण्टा विद्युतिय उर्जा उत्पादन हुने बताइएको छ । पावर हाउसबाट उत्पादित विद्युत चार किलो मिटर लामो ३३ के भी प्रसारण लाइन निर्माण गरी इलामको गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रशारणमा जोडिने भएको छ । जोगमाई खोलामा यस अघि साढे सात मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत आयोजना निर्माण भएको थियो ।