अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ लाख रुपैयाँ बढी बिगो माग गर्दै ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन प्रमुख सहित ४ जनाविरुद्ध आयोगले ९ लाख ४६ हजार बिगो माग गरेको छ ।
सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको दाबी सहित आयोगले पाँचौ तहका कर्मचारी मनीषकुमार महतोविरुद्ध ४ लाख ८१ हजार रुपैयाँ बिगो माग गदै अभियोगपत्र दायर गरेको हो ।
यस्तै तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार लेखापाल हरिशंकर शर्मा्विरुद्ध जनही १ लाख ७८ हजार ४ सय रुपैयाँ बिगो माग गरेको छ । कार्यालयका तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीविरुद्ध पनि आयोगले १ लाख ८ हजार ३ सय रुपैयाँ बिगो माग गदै मुद्दा दायर गरेको हो ।
यसैबीच, बर्दियाको बढैयाताल गाउँपालिका–६ को वडा कार्यालयका तत्कालीन सचिव मणिराज पौडेल सहित ४ जना विरुद्ध अख्तियारले ७ लाख ६० हजार बिगो माग गदै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै आयोगले असिष्टेण्ट सव–इन्जिनियर लोकबहादुर शाही, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अंकार चौधरी र प्रदिप चौधरीविरुद्ध जनही १ लाख ८९ हजार ७ सय ५२ रुपैयाँ बिगो माग गरेको हो ।
यस्तै, शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढी, कैलालीका इन्जिनियर त्रिलोक जोशी विरुद्ध आयोगले २ लाख ५० हजार रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरिदिए बापत सेवाग्राहीसँग घूस लिंदै गर्दा उनी पक्राउ परेका थिए ।
