सागमा रजत र कास्य जित्ने खेलाडीलाई पनि पुरस्कार घोषणा गर्न माग

सागमा रजत र कास्य जित्ने खेलाडीलाई पनि पुरस्कार घोषणा गर्न माग

नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कास्य पदक जित्ने खेलाडीलाई पनि पुरस्कारको घोषणा गर्न माग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं सागमा व्यक्तिगतर्फ तीनवटै पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको थियो । यस्तै टिम इभेन्टमा पनि स्वर्ण जित्ने खेलाडीलाई मात्र नगद पुरस्कार घोषणा गरेको थियो । तर रजत र कास्य पदक जित्नेलाई भने पछि नै मिलाएर पुरस्कार घोषणा गर्ने जनाएको थियो । त्यसबाट खेलाडीहरु समेत निराश बनेका थिए ।
मंगलबार एनएनआईपीएले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कारलाई स्वागत गर्दै बाँकी रहेकालाई पनि पुरस्कार घोषणा गर्नुपर्ने माग राखेको छ ।
विज्ञप्तीमा ऐतिहासिक रुपमा साग सफल बनाएको भन्दै अब रजत र कास्य जितको खेलाडीलाई पनि पुरस्कार घोषणा गर्न आग्रह गरिएको छ । ‘ऐतिहासिक रुपमा साग आयोजना गर्नुका साथै खेलाडी र खेलकुदलाई अघि बढाउन महत्वपूर्ण काम गर्दै आएको सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई हामी टिम खेलका रजत र कांस्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।
यसअघि सरकारले घोषणा गरेको पुरस्कार समयमा नपाएको इतिहास रहेकाले अहिले घोषित पुरस्कार पनि समयै उपलब्ध गराउन आग्रह गरिएको छ । एनएनआईपीएले भनेको छ, ‘नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेका थुप्रै घटना छन् ।
त्यसैले यसपालि वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौं ।’
मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको १३औं सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्दै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले साग इतिहासमै अहिलेसम्मकै सबैभन्दा धेरै ५१ स्वर्ण ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक जितेको थियो । अनलाईनखबर

सम्बन्धित खवर