इलाममा छ वर्षमा सात सय ३९ अपराधिक घटना

इलाममा छ वर्षमा सात सय ३९ अपराधिक घटना

इलाममा सात सय भन्दा बढी अपराधिक घटनामा, सबै भन्दा बढी बालिका बलात्कारका घटना भएको पाइएको छ । जिल्लामा छ वर्षमा सात सय ३९ वटा अपराधिक घटना भएका छन् जसमा बालिका बलात्कारका घटना मात्रै ९७ वटा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इलामले जानकारी दिएको छ ।
इन्सेक इलामले ‘मानव अधिकार वर्ष पुस्तक–२०२०’ का लागि सोमबार इलाममा गरेको वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको अन्तरक्रिया कार्यक्रम मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा छ वर्ष्भित्र इलाममा आत्महत्याका तीन सय १८, घरेलु हिंसाका दुई सय १६, बलात्कारका एक सय ३५, बहुविवाहका ३८, बालक कुटपिटका १०, हत्या र मानव ओसारपसार तथा बेचविखनका आठरआठ, वेवास्ता, बालविवाह र जातिय विभेदका दुईरदुई वटा घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि इलामका कोकिला ढकालले जानकारी दिइन ।
त्यस्तै छ वर्षमा सबै भन्दा बढी सन् २०१७ मा मानव अधिकार उल्लङ्घनका घटना घटेको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष एक सय ७८, सन् २०१५ मा एक सय ५८, सन् २०१६ मा एक सय ४९, सन् २०१८ मा एक सय २०, सन् २०१४ मा ७९ र सन् २०१९ मा ३३ वटा घटना घटेको प्रतिनिधि ढकालले बताइन । यस वर्ष भने सबै भन्दा कम घटना भएको पाइएको छ ।
प्रतिवेदनको तथ्याङ्क अनुसार, सन् २०१९ मा ३३ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । जसमा सबै भन्दा बढी बलात्कारका घटना रहेका छन् । यस वर्ष बालिका १३ र महिला आठ गरी बलात्कारका २१ ओटा घटना भएका छन् । यसैगरी बहुविवाहका आठ, हत्याका तीन र बालविवाहको एक वटा घटना रहेको छ ।

सम्बन्धित खवर