एक सय २२ चिनियाँ पक्राउ,६ सयको सूची लिएर एक दर्जन चिनियाँ अधिकारी नेपालमा

एक सय २२ चिनियाँ पक्राउ,६ सयको सूची लिएर एक दर्जन चिनियाँ अधिकारी नेपालमा

नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् ।
प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागले उनीहरूविरुद्ध सूचना संकलन गरेर पृष्ठभूमि तयार पारेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अपरेसन चलाए । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारी तथा आइटीविज्ञ गत साता काठमाडौं आएका थिए ।
नेपालबाहेक फिलिपिन्स, मलेसिया, सिंगापुरलगायत पूर्वी एसियाली देशहरूमा अपरेसन गर्न चिनियाँ प्रहरी एकैपटक पुगेको छ । यसका लागि नेपाल र चीनका अधिकारीहरू तीन महिनादेखि तयारीमा थिए । नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले यहाँ फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ । उनीहरूलाई भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने र चिनियाँ अधिकारीलाई बुझाउने गृह मन्त्रालयको तयारी छ । लगत्तै, नेपाल सरकारले निष्कासन गरेपछि उनीहरूलाई एकैपटक चीन र्पुयाउन उतैबाट चार्टर्ड विमान ल्याइँदै छ । स्वदेशमै लगेर थप अनुसन्धान गर्ने चीनको तयारी छ ।
२०६० को आसपासदेखि नै नेपालमा चिनियाँहरूको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यतिवेला रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा चिनियाँहरू संलग्न हुने गरेको पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले बताए । पछिल्लो समय डलर र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता बढेको छ । अहिले ह्याकिङ, मानव तस्करी तथा लागुऔषधमा समेत उनीहरूको संलग्नता देखिएको छ । अझै नेपाललाई आधारभूमि बनाएर उनीहरूले इन्टरनेटमार्फत समेत संगठित आर्थिक अपराध गर्दै आएका छन् ।
बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरूमा चिनियाँहरू सबैभन्दा धेरै छन् । पछिल्लो वर्ष उनीहरूको संख्या आश्चर्यजनक रूपमा बढेको प्रहरी अधिकारीहरू बताउँछन् । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा आर्थिक अपराध गरिरहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १६ फागुन २०७४ मा १३ जना चिकित्सकलाई पक्राउ गरेको थियो । नेपालमा अनुमतिविना नै अस्पताल चलाएको भन्दै ठमेलको एपोलो इन्टरनेसनल पोलिक्लिनिक, बौद्धको चाइना ग्रेटवाल हेल्थ सेन्टर, चाइनाज् पिपल्स हस्पिटल र चाइना डेन्टल अस्पतालमा कार्यरत चिकित्सकहरू पक्राउ परेका थिए । अहिले पनि कतिपय चिनियाँहरू अनधिकृत रूपमा अस्पताल सञ्चालन गरेर बसेको उजुरीमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
चिनियाँहरूको अपराध डायरी ः जनावरका अंग, लागुऔषध, डलरदेखि ८८ किलो सुनसम्म तस्करी गर्न खोजेको आरोपमा पक्राउ
१२ मंसिर ०७६ ः ८ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका थिए । हङकङ हुँदै उनीहरूले नेपालमा सुन तस्करीको प्रयास गरेका थिए ।
२० साउन ०७६ ः चिनियाँ नागरिक ली निङ्सी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ परेका थिए । हङकङबाट कपडाको बेल्टमा लुकाएर उनले नेपालमा सुन भित्र्याउने प्रयास गरेका थिए ।
२७ चैत ०७५ ः तीन चिनियाँलाई करिब साढे तीन किलो सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले मलद्वारमा लुकाएर सुन तस्करीको प्रयास गरेका थिए ।
१२ कात्तिक ०७५ ः अवैध रूपमा साटेर डलर लैजाने क्रममा पटक–पटक चिनियाँहरू पक्राउ परेका छन् । एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो । नेपालबाट चीनमा डलर तस्करी गर्न खोज्ने क्रममा इरेसा नामक चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।
४ भदौ ०७५ ः समुद्री घोडा तथा बाघको छालासहित तीन चिनियाँ नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं वान होटेलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ ठमेलस्थित उनकै होटेलबाट पक्राउ परेका थिए । उनको साथबाट समुद्री घोडा ३०० ग्राम, यार्सागुम्बा ९० ग्राम, सुनाखरी ३३० ग्राम तथा विभिन्न जडीबुटी साढे ६ किलो बरामद भएको थियो ।
२३ वैशाख ०७५ ः चिनियाँ महिला तीन किलो सुनसहित पक्राउ परेकी थिइन् । डेढ किलो सुनसहित ६ चिनियाँ विमानस्थलमै पक्राउ परेको प्रहरी तथ्यांक छ ।
१५ माघ ०७४ ः वन्यजन्तु तस्करीको प्रमुख गन्तव्य पनि चीन हुने गरेको छ । यस्तो गिरोहमा पनि चिनियाँहरूको संलग्नता बढ्दो छ । डेढ वर्षअघि अफ्रिकाको कंगोबाट टर्की हुँदै नेपाल आएका दुई चिनियाँले एक सय ६२ केजी सालकको खपटा तस्करी गर्न खोजेका थिए । सालकको खपटासहित चिनियाँ नागरिकहरू क्वी जिओरोङ र क्वी लिबाओलाई प्रहरीले १५ माघ ०७४ मा विमानस्थलबाट पक्राउ गरेको थियो ।
८ पुस ०७४ ः जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । चिनियाँ युवती पुकाओ हुलाईलाई जुत्ताभित्र लुकाएको करिब दुई किलो सुनसहित प्रहरीले विमानस्थलमै पक्राउ गरेको थियो ।
१३ असोज ०७४ ः चिनियाँ महिला यानकुन दुवानलाई ४६ हजार चार सय ८० अमेरिकी डलरसहित नेपालबाट भुटान जान खोज्दा प्रहरीले पक्राउ गरेको थियो ।
४ असोज ०७४ ः सडकमार्गबाट समेत चिनियाँहरूले डलर तस्करी गर्दै आएका छन् । रसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको प्रहरी रेकर्ड छ ।
१८ भदौ ०७४ ः प्रहरीले ठमेलबाट ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीका मुख्य नाइके चिनियाँ भएको खुल्यो ।
७ माघ ०७३ ः रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए ।
१ माघ ०७३ ः दुई लाख ६० हजार अमेरिकन डलर, एक लाख १८ हजार युरो र केही अस्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन चिनियाँलाई प्रहरीले नागढुंगामा पक्राउ गरेको थियो । बा.१य १२३२ नम्बरको गाडीमा उनीहरू रसुवा नाका हुँदै चीन जाने क्रममा थिए ।
१५ जेठ ०७३ ः लागुऔषध नियन्त्रण ब्युरोले तीन केजी कोकिनसहित चिनियाँ नागरिक चुन म्यानलाई पक्राउ गरेको थियो । जसमा संलग्न केही व्यक्तिहरू चीनमै रहेको खुलेको थियो । नेपालबाट चीनमा चरेस तस्करीका घटनासमेत देखिएको लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा खुलेको थियो ।
३२ जेठ ०७२ ः चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परेकी थिइन् ।
१० भदौ ०७२ ः विमानस्थलमा एक चिनियाँ दुई करोड २५ लाखबराबरको विदेशी मुद्रासहित पक्राउ परेका थिए । ७४ हजार अमेरिकी डलर, ७६ हजार युरो, ४८ हजार स्विस फ्र्यांकसहित वाङ पक्राउ परेका थिए ।
पुस ०६८ ः भक्तपुरको जगातीबाट ९७ हजार दुई सय २३ डलरसहित केही चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले तातोपानी नाका हुँदै डलर तस्करीको प्रयास गरेका थिए ।
१८ असोज ०६७ ः चिनियाँ नागरिक कोविन ली ४० हजार डलरसहित भक्तपुरमा पक्राउ परेका थिए । १० वर्षअघिदेखि नै चिनियाँहरू नेपालबाट अवैध डलरको कारोबारमा संलग्न रहेको प्रहरी तथ्यांकमा देखिन्छ ।
असोज ०६७ ः तीन लाख अमेरिकन डलरसहित तीन चिनियाँलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरिएको थियो । त्यतिवेला तातोपानी नाकामा पटकपटक ठूलो परिमाणमा डलरसहित चिनियाँहरू पक्राउ परेको प्रहरी अधिकारीहरू बताउँछन् ।
८ जेठ ०६७ ः चिनियाँ नागरिकसहितको एक समूह ४६ किलो सालकको खपटासहित पक्राउ परेको थियो । बाघको हड्डीसहित १८ वर्षीय जिन वाई तथा १९ वर्षीय झाङ यु ताइनलाई परिसरले पक्राउ गरेको थियो । नयाँपत्रिकाबाट

सम्बन्धित खवर