वडा नं. ८ मा उद्घोषण तालिम सम्पन्न

वडा नं. ८ मा उद्घोषण तालिम सम्पन्न

पथरी, मोरङको पथरी शनिश्चरे ८ मा उद्घोषण तथा प्रभावकारी भाषण कला सम्बन्धी तालिम सम्पन्न भएको छ । वडाको आर्थिक सहयोगमा फागुन ३ गते देखि ७ गते सम्म चलेको तालिमको सोमबार समापन गरिएको हो ।

५ दिन सम्म गरिएको तालिम सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । वडाले आर्थिक वर्ष ०७६/०७७ मा उद्घोषण तालिमका लागि रु. ५० हजार बिनियोजन गरेको थियो । सोही बजेटबाट प्रदेश भिजन प्रा.लि.को आयोजनामा ५ दिने तालिमको आयोजना गरिएको हो । तालिमको सहजीकरण रेडियो सिम्रिकका कार्यक्रम संयोजक विवेक न्यौपाने र प्रदेश दैनिकका सम्पादक भीमराज अधिकारीले गरेका हुन् ।

सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको हलमा भएको तालिममा वडाका २५ जना सहभागीहरुको सक्रिय सहभागिता रहेको थियो । वडाका महिला समूह, बालक्लव लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेको तालिम प्रभावकारी रुपमा संचालन भएको सहभागीहरुले बताए । अबका दिनमा निर्धक्क भएर कार्यक्रम संचालन गर्न सक्नुका साथै भाषणमा पनि समय अनुसार, कार्यक्रम अनुसार भाषण गर्न सक्ने भएको सहभागी इश्वरी राई र अस्मिता मगरले बताए ।

तालिम चलिरहेकै समयमा प्रदेश सभा सदस्य सुयर्माराज राईले समेत तालिमको अवलोकन गरेका छन् । वडाले यस्ता कार्यक्रम राख्नु निकै राम्रो काम भएको राइले बताए । आफ्नो सांसद विकास कोषबाट पनि बाटो, भवन, पैनी, बाँध मात्रै बनाउने भन्दा पनि केही बजेटहरु मानव संसाधन विकासमा खर्च गर्ने राईले बताए । आगामी वर्षहरुमा समेत आफुले सकेसम्म बढी मात्रामा मानव संसाधनको विकासमा योजनाहरु ल्याउने राईको भनाइ थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बाबुराम दाहालले वडाले विकास निर्माणमा मात्रै नभएर मानव संसाधन विकासमा खर्च गर्दै आएको बताए । आगामी वर्षहरुमा पनि अझै बजेट तथा कार्यक्रमहरुको व्यवस्थापन गरी अन्य विभिन्न तालिमहरुको आयोजना गरिने दाहालले बताए । समापन कार्यक्रममा वडा सदस्य सिर्जना भट्टराई, सिद्धेश्वर साकोसका अध्यक्ष सुवास गौतम, व्यवस्थापक रमेश पाण्डे, प्रशिक्षक विवेक न्यौपाने सहितले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर